
चर्चित गायक सुनिल गिरीले गत हप्ता ‘जुम्ला’ बोलको गीत सार्वजनिक गरे, जुन गीत यतिबेला चर्चामा छ ।
‘को होला त्यो’ फ्रेम्ड यी गायकको शब्द, संगीत र स्वरको सधैं प्रशंसा हुने गर्छ । उनका गीतको भिडियोमा कलाकारहरूको अभिनयलाई पनि दर्शकहरूले उत्तिकै रुचाउँछन् । सुनिलका गीतको अर्को विशेषता भने भिडियोमा पाइने सुन्दर लोकेसन हो ।
उनी आफ्ना गीतको भिडियोमार्फत देशको सुन्दरतालाई समेत देखाउँदै आएका छन् ।
टाढा–टाढा पुगेर सुन्दर लोकेसनमा आफ्ना गीतको भिडियो छायांकन गर्छन् उनी, जसले स्रोता–दर्शकलाई लोभ्याउँछ । त्यसै मध्येमा पर्छ पछिल्लो गीत ‘जुम्ला’ पनि ।
मिस पबि र रोशन केसीको अभिनय रहेको गीतको भिडियोलाई उनले कर्णाली प्रदेशको जुम्लामै पुगेर छायांकन गरेका हुन् । ‘जान/आउन ४ दिन लाग्यो । सुटिङ ४ दिन लगाएर गरेका थियौं,’ सुनिलले भने ।
‘प्रकृतिसँग नजिक रहेर शब्दहरू लेख्छु’
सुनिल आफू प्रकृति प्रेमी रहेको बताउँछन् । सोही कारण विभिन्न ठाउँहरू घुम्नु आफ्नो पहिल्यैदेखिको शोख रहेको उनले बताए ।
समय मिल्ना साथ उनी घुम्नका लागि सुन्दर ठाउँहरूमा पुगिरहेका हुन्छन् । उनलाई नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण लाग्छ ।
‘देशको सुन्दरतालाई कसरी गीत–संगीतमार्फत देखाउन सक्छु भन्ने सोचिरहेको हुन्छु । आफ्नो गीतलाई राम्रो ठाउँको लोकेसन दिउँ भन्ने लोभ ममा सधैं नै रहन्छ,’ टाढा–टाढा पुगेर भिडियो छायांकन गर्नुको कारणबारे उनले भने, ‘गीतले आफू मात्रै नभएर आफ्नो देशलाई पनि चिनाओस् भन्ने लाग्छ ।’
पल शाह र प्रकृति श्रेष्ठ अभिनित ‘को होला त्यो’ बोलको गीत सुनिलले हेटौंडामा छायांकन गरेका थिए । पल शाह र रीमा विश्वकर्मा अभिनित ‘देउराली भञ्ज्याङ’ बोलको गीत भने सुनिलले मुस्ताङ पुगेर छायांकन गरेका थिए ।
क्रिष्टिना थापा र नशिव अधिकारीलाई अभिनय गराउँदै ‘लेकाली माया’ बोलको गीत सुनिलले मुगुको रारा पुगेर छायांकन गरेका थिए ।
‘जतिबेला त्यहाँ फिल्म युनिट पनि पुगेको थिएन । ८–९ वर्ष अगाडि रारा पुगेर गीत छायांकन गरेको थिएँ,’ उनी भन्छन् ।
पल शाह र क्रिष्टिना थापाको अभिनय रहेको ‘को होला त्यो २’ फिमेल भर्सनको सुटिङ सुनिलले खप्तड राष्ट्रिय निकुञ्जमा पुगेर गरेका थिए ।
उसो त उनी प्रकृतिसँग नजिक भएर नै गीतका शब्दहरू तयार पार्छन् । त्यही अनुसार मिठो संगीत भर्छन्, सुटिङ कहाँ गर्ने भनेर पहिल्यै सोच बनाइसकेका हुन्छन् ।
‘मेरा गीतले नै डाँडाकाँडा खोजिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘बरु पब्लिक गाडीमै दुःखै गरेर जाउँ, राम्रै ठाउँमा जाउँ भन्ने हुन्छ ।’
उनी आफ्ना गीत सुटिङ भएका प्रायः स्थानमा पहिल्यै पुगेर फर्किसकेका हुन्छन् । कुनैमा पटक–पटक जान सम्भव नहुने उनले बताए । आउँदा दिनमा पनि टाढा–टाढा पुगेर आफ्ना गीतको भिडियो छायांकन गर्ने सोच उनको छ ।
कालिकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर परिसर, से–फोक्सुण्डो लगायतका स्थानमा भिडियो छायांकन गर्ने सोच भए पनि नजुरेको उनले बताए । ‘टाढा पुगेर मात्रै गीत राम्रो हुने चाहिँ होइन । गीतको कथा वस्तुले कस्तो लोकेसन माग्छ, त्यो पनि ख्याल गर्नुपर्छ,’ उनले भने ।
सुनिललाई नेपालको सबैभन्दा मन परेको ठाउँ कुन होला ? उनी हरेक ठाउँको आ–आफ्नो विशेषता रहेको बताउँछन् । ‘सरल/सजिलोको हिसाबले पोखरा हो तर मन परेको एउटा सीमित ठाउँ भन्ने हुँदैन जस्तो लाग्छ,’ उनी भन्छन् ।
टाढा–टाढा पुगेर छायांकन गरिएका गीतलाई स्रोता/दर्शकले रुचाइदिँदा उनी खुशी छन् । पछिल्लो गीत ‘जुम्ला’ले पनि १ हप्तामै १८ लाख बढी भ्युज पाइसकेको छ । गीतको सफलतासँगै यतिबेला एउटा सालैजो गीतको तयारी थालिसकेका छन् उनले ।