
नेपालबाट अदक्ष जनशक्ति वार्षिक लाखौंको संख्यामा विदेश गइरहेका हुन्छन् तर दक्ष जनशक्ति विदेशिने र सीप बेचेर कमाइरहेका छन् भन्ने चर्चा चाहिँ निकै कम मात्रै हुने गरेको छ ।
छोटो समय मेहनत गर्ने हो भने सीप बेचेरै डुल्दै, घुम्दै स्वदेश–विदेशमा अवसर पाइन्छ भन्ने उदाहरण पछिल्लो समय ‘'रिभर गाइड'’ पेशा बन्दै गएको छ ।
नेपाली गाइडले मासिक न्यूनतम् डेढ लाखदेखि ८–९ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । यस्तो कमाइ गाइडको दक्षता र अनुभवका आधारमा घटीबढी हुने गरेको 'रिभर गाइड' एशोसिएशनले बताएको छ । नेपाली गाइडको कमाइ सबैभन्दा बढी यूरोपेली देशमा हुने गरेको छ ।
नेपालमा २ वर्ष मेहनत गरेर सीप सिक्ने हो भने स्वदेश र विदेश दुवैतिर अवसर पाउने पेशा हो ‘'रिभर गाइड'’ । पर्यटकसँग रमाउँदै घुम्न पाइने, नेपालमा अफ सिजन हुँदा विदेशमा सिजन हुने भएकाले वर्षभर खाली नबसी सीप बेचेरै आकर्षक कमाइ गर्न सकिने क्षेत्र पनि हो ‘'रिभर गाइड'’ ।
नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटकीय सिजन भएको बेला यहीँ गाइड गर्ने र त्यसपछिको ८ महिनासम्म विदेशमा गएर आकर्षक कमाइ गर्ने यस्ता 'रिभर गाइड'हरू करीब ४०० भन्दा बढीको संख्यामा छन् । यी गाइडमध्ये ६ महिना स्वदेश र ६ महिना विदेश आउने–जाने पनि गर्छन् ।
नेपाली 'रिभर गाइड'का लागि कमाइ र कामको हिसाबले आकर्षक गन्तव्य भने जापान भइरहेको छ । जापानमा वार्षिक ३०० जनाभन्दा बढी 'रिभर गाइड'कै रूपमा जाने–आउने गरेको नेपाल 'रिभर गाइड' एशोसिशसनका अध्यक्ष निराजन रायमाझीले बताए ।
रायमाझीले भने, ‘अहिले पनि करीब ३०० भन्दा बढी नेपाली त जापानमै 'रिभर गाइड'को रूपमा कार्यरत छन् ।’ जापान भारतपछि सबैभन्दा बढी नेपाली 'रिभर गाइड' पुग्ने गन्तव्य पनि हो । जापानमा मार्चदेखि अक्टोबरसम्म नै सिजन हुने भएकाले सबैभन्दा बढी नेपाली 'रिभर गाइड'को डिमान्ड आउँछ । नेपाली गाइडले न्यूनतम् मासिक डेढ लाख जापानी येन कमाइ पनि हुने भएकाले यो गन्तव्यमा पुग्ने नेपाली बर्सेनि बढ्ने पनि गरेका छन् । साथी सर्कलको माध्यमबाट जाने र सिधै कम्पनीमार्फत विदेशी गाइडको आकर्षण अरू देशमा पनि थपिन थालेको छ ।
पछिल्लो समय नेपालबाट गाइडकै रूपमा नर्वे, आइसल्यान्ड, क्रोएसिया, अमेरिका, क्यानडा, न्यूजील्यान्ड, इटालीसहितका देशमा नेपाली गाइड पुगेका छन् । यस्ता गाइडको कमाइ पनि आकर्षक हुन्छ भने स्वदेशदेखि विदेशसम्म नै सीप बेचेर जीवनयापन पनि चल्ने गरेको 'रिभर गाइड' एशोसिशसन अफ नेपालका अध्यक्ष रायमाझीले बताए ।
कति समय लाग्छ विदेशमा बिक्ने गाइड उत्पादन गर्न ?
नेपालमा १२ कक्षा अध्ययन गरेको पर्यटन क्षेत्रमा काम गर्न इच्छुक कुनै पनि व्यक्ति ‘'रिभर गाइड'’ बन्न सक्छन् । इच्छुक व्यक्ति कुनै र्याफ्टिङ कम्पनीमा आबद्ध हुने र त्यसपछि २ वर्षसम्ममा आफूलाई दक्ष गाइडको रूपमा विकास गर्न सक्छन् ।
नेपाली कम्पनीसँग आबद्ध भएर काम गरेका सहयोगी गाइड २ वर्षमा दक्ष जनशक्ति भएर निस्कन सक्छन् । यस्तो जनशक्तिले स्वेदशदेखि विदेशसम्म नै अवसर पाउने गरेको 'रिभर गाइड' एशोसिएशनका अध्यक्ष रायमाझीले जानकारी दिए । उनले भने, ‘यस्तो गाइड उत्पादन र्याफ्टिङ कम्पनी आफैंले उत्पादन गरिरहेका हुन्छन् । कम्पनीमा आबद्ध गाइडलाई सम्बन्धित कम्पनी, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेसिन्ज (नारा) देखि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सम्मले तालिम दिने गरेका छन् ।'
संसारको उत्कृष्ट पेशा हो 'रिभर गाइड'– प्रशिक्षक आले
नेपाली 'रिभर गाइड' प्रशिक्षक चन्द्र आले भने नेपाली 'रिभर गाइड'ले छोटो समयमा नै दक्षता हासिल गर्न सक्ने र संसारको जुनसुकै कुनामा पुग्न सक्ने सीप भएको बताउँछन् । आलेका अनुसार यो पेशा डुल्न–घुम्न पाइने र आफ्नो दक्षता अनुसार आकर्षक कमाइ पनि हुने भएकाले संसारकै उत्कृष्ट पेशा भनेर विश्लेषण गरिन्छ ।
३२ वर्षदेखि 'रिभर गाइड' पेशामा आबद्ध आले संसार घुमेर नेपालमै बसेर नयाँ गाइडलाई तालिम दिइरहेका छन् । उनले पेशाकै शिलशिलामा युरोप र अमेरिका सबैजसो देश घुमिसकेका छन् । आलेका अनुसार नेपालमा कम्तीमा १ देखि २ वर्ष सीप सिक्न धैर्य गर्ने नेपालीले त्यसपछि राम्रो अवसर पाउन सक्ने पेशा नै 'रिभर गाइड' नै हो ।
नेपालबाट आफैं सम्पर्क गरेर र कम्पनीमार्फत सिफारिस गरेर पनि गाइड बाहिर गइरहेका छन् । कम्पनीमार्फत सिफारिस गर्दा भने गाइडबाट शुल्क लिएर पठाउने गरेका छन् भने आफैं सम्पर्क गर्नेहरूले त्यस्तो शुल्क तिर्नु पर्दैन । नेपालमा सीप सिकेर राम्रो कमाइका लागि भने सबैजसो गाइडको रोजाइ विदेश नै हुने गरेको प्रशिक्षक गाइड आले बताउँछन् ।
आलेका अनुसार नेपालबाट बाहिर जाने गाइडले मासिक न्यूनतम् ३ लाख रुपैयाँ कमाउनु सामान्य नै हो । सिनियर प्रशिक्षकले त मासिक ९ लाख रुपैयाँभन्दा बढी नै कमाउँछन् । नेपालमा प्रशिक्षक गाइडको रूपमा काम गर्ने भने सीमित जनशक्ति रहेको आलेले बताए ।