०५ साउन २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको १७ औं साधारण सभा, साढे १२ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको १७ औं साधारण सभा, साढे १२ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंमा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौंमा भएको साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५०% र बोनस शेयर ५%) सहित आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।

साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबर बोनस शेयरधनीहरूलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

यसपछि बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ ।

बैंक सञ्चालक  समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।

बद्लिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिष्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन (बिजेनेस प्रोसेस रिइन्जिनियरिङ) सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिहरूको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको पाठकले बताए।

साधारण सभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरूको उपस्थिति थियो।

अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरू श्री डमरुवल्ल्भ घिमिरे, श्री दामोदर प्रसाद घिमिरे, श्री रामगोपाल श्रेष्ठ र श्री अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारका लागि विभिन्न सुझावसहित धारण राखेका थिए।

सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक  समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिएका थिए। 

सो साधारण सभामा बैंक सञ्चालक  समितिका सदस्यहरू शम्भुप्रसाद मरासिनी,प्राडा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, दिलिपकुमार ढुंगाना, सुशील घिमिरे, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कँडेल छत्कुलीको उपस्थिति थियो ।

साधारण सभामा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश बराल, महालेखापरीक्षक कार्यालयका निर्देशक कमल सिलवाल, बैंकका कानुनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियनका अध्यक्षलगायत अतिथिको उपस्थिति थियो । साधारणसभालाई कम्पनी सचिव हेमराज खरेलले सहजीकरण गरेका थिए।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्