०६ साउन २०८३, बुधबार

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौं : नवनियुक्त मन्त्री गिरी

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौं : नवनियुक्त मन्त्री गिरी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मंगलवार पदभार सम्हालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै उनले २ महत्त्वपूर्ण निर्णय गरेका छन् । सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन् । अर्को उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेका छन् ।

दुवै निर्णय स्वीकृत गर्दै उनले गरीब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने बताए । उनले गाउँ र शहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताए ।

मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने स्पष्ट गरे । 

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि मंगलवारै पदभार ग्रहण गरेकी छन् । स्वास्थ्यमन्त्री गिरीसँगै राज्यमन्त्री डा. कार्कीले पनि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेकी छन् ।

राज्यमन्त्री डा. कार्कीले संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने बताइन् । उनले कोही पनि पैसाको अभावले उपचार गर्नबाट वञ्चित हुनुनपर्ने उल्लेख गरेकी छन् ।

आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पताललाई न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरिएको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

नवनियुक्त मन्त्री गिरी गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट पर्वतबाट निर्वाचित भएका थिए ।

आमा सीता गिरी र बेल गिरीबाट पर्वत जिल्ला कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका मन्त्री गिरी अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका उनी सोही क्याम्पसको स्ववियु सभापति समेत भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्