
आफ्नै कारण केन्द्र र प्रदेशको सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएदेखि ‘कोर्स करेक्सन’को बाटोमा अघि बढेका छन् ।
माघ ५ मा हुने सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई दायाँबायाँ गर्न नसके पनि माघ २८ भित्र गरिसक्नुपर्ने राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा कुनै चमत्कार हुने र परिस्थिति बदलिने आशमा देउवा छन् । त्यसैका लागि धुम्बाराहीस्थित भाडाको घरमा बसेर रणनीति बनाइरहेका छन् ।
गत शनिबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई कांग्रेससहितका दलले विश्वासको मत दिएपछि परिस्थिति बदलिएको बताए । राष्ट्रपति र सभामुखको निर्वाचनको विषयमा दलहरूसँग छलफलका लागि सर्वदलीय बैठक पनि बोलाए ।
१० पुसमा आफूसँग माओवादी चिढिए पनि विश्वासको मतले ‘कोर्स करेक्सन’को बाटो अघि बढाएको भन्दै कांग्रेसले राष्ट्रपतिको चुनावसम्म पुग्दा अवस्था फेरिने अपेक्षा राखेको छ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदहरूको कुल मतभार साढे ५२ हजारभन्दा बढी छ । राष्ट्रपति चुनाव जित्न कम्तीमा २६ हजार ३ सय हाराहारीमा मत ल्याउनुपर्ने हुन्छ । तर सत्ता गठबन्धनबाट माओवादीले भोट पूरै क्रस नगरेसम्म कांग्रेसले राष्ट्रपतिमा आफ्नो वा आफू अनुकूलको उम्मेदवार जिताउन सक्ने छैन । तर पनि विश्वासको मतले अवस्था फेरिएको र सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी ओलीमा संविधानविरोधी मानसिकता देखिएको भन्दै कांग्रेसले नयाँ समीकरणको आश नमारेको हो । यो चाल बुझेका ओलीले प्रधानमन्त्री प्रचण्डसँग दिनहुँजस्तो भेटिरहेका छन् ।
‘हामीले विविध कारणले पुरानो गठबन्धन जोगाउन सकेनौं, तर २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि अवस्था फेरिएको छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘हामीले मत दिएपछि प्रधानमन्त्रीले पनि सबैसँग छलफल गरेर अघि बढ्छु भन्दै छलफल आह्वान गर्नुभयो । यसबाट साझा संस्थाको निर्वाचनमा फेरि मिलेर जाने वातावरण बन्छ भन्ने विश्वासमा छौं ।’
दुईपटक संसद् विघटन गरेका केपी ओलीले संसद्बाटै फेरि अस्थिरताको कुरा गरेको भन्दै संविधानको रक्षा गर्नका लागि पनि परिवर्तन पक्षधर मिलेर जानुपर्ने उनले बताए ।
‘अहिले राष्ट्रपतिमा उम्मेदवार अघि सार्ने भन्दा पनि प्रधानमन्त्रीले कसरी विश्वासको वातावरण बनाएर जानुहुन्छ, पहिले हामीले त्यो कुर्नेछौं । अर्कातिर सत्ताकै दल एमालेका नेताले संसद् बैठकमै राजनीतिक अस्थिरताको चेतावनी दिनुभएको छ,’ महत भन्छन्, ‘त्यसपछिको परिस्थिति हेरेर हामी फेरि पुरानो सहयात्री दल मिलेर जानुपर्छ भन्नेमा छौं ।’
आफूहरूले प्रचण्डलाई समर्थन गरेपछि एमाले र माओवादी सम्बन्धमा चिसो आउने बुझाइ कांग्रेसको छ । यहीबेला राष्ट्रपति उम्मेदवार बन्ने पात्रका विषयमा समेत खेल्ने तयारी कांग्रेसको छ । सत्ता गठबन्धनको सहमतिमा राष्ट्रपति एमालेको भागमा परेको छ । यसैले एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा आउने पात्र हेरेर आफ्नो तयारी अघि बढाउने दाउमा कांग्रेस रहेको अर्का एक नेता बताउँछन् ।
‘भर्खरै बनेको १६९ सांसद समर्थनको गठबन्धनविरुद्ध राष्ट्रपतिमा केही गर्न सकिन्छ कि भनेर लाग्नु कांग्रेसको प्रयास र रणनीतिक मुभ मात्रै हो,’ ती नेता भन्छन्, ‘सत्ता गठबन्धनमा सर्वमान्य पात्र अघि सारिएन भने कांग्रेसलाई सहज हुन्छ । त्यसले धेरै विकल्प खुला गर्नेछ ।’
एमालेभित्र राष्ट्रपतिका लागि पूर्व सभामुख एवं उपाध्यक्ष सुवास नेम्वाङ, अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य तथा नेताहरू सत्यनारायण मण्डल र केशव बडालको नाम चर्चामा छ । पात्रका विषय अहिले नै घोषणा गर्दा माहोल बिग्रने भएकाले पनि अध्यक्ष ओलीले यसबारे कुनै अभिव्यक्ति वा संकेत दिएका छैनन् ।
एमालेले नेम्वाङलाई अघि सार्दा पनि उनी सर्वमान्य पात्र नहुने भन्दै कांग्रेसले माओवादीलाई अरू नै विकल्पका लागि मनाउने प्रयास गर्न खोजेको छ ।
‘एमालेले माहोल बिग्रन्छ भनेर मुख खोलेको छैन, तर अन्तिममा राष्ट्रपतिमा एमाले उम्मेदवार सुवास नेम्वाङ नै हुन् । उनले सभामुख नखाने भन्दै राष्ट्रपतिमा घुमाउरो पाराले दाबी पनि गरेका छन्,’ कांग्रेसमा देउवा निकट मानिने ती नेता भन्छन्, ‘तर एमालेभित्रै नेम्वाङ हुँदैन भन्ने मत छ । संघीयताविरोधी भएको, जातीय सन्तुलन बिगार्न ककस बनाएको, क्रिश्चियन भित्र्याउन भूमिका खेलेकोजस्ता आरोप उनीमाथि छ । उनलाई अघि सार्दा राम्रो हुँदैन भन्ने मत एमाले र माओवादी दुवैभित्र हुनु हाम्रा लागि राम्रो हो ।’
एमालेमा ईश्वर पोखरेल पनि राष्ट्रपतिका लागि इच्छुक नेता हुन् । तर, उनको नाममा अध्यक्ष ओली स्वयं तयार हुने सम्भावना कम रहेको एमालेका नेताहरू बताउँछन् ।
एमाले उम्मेदवारलाई विवादित बनाउँदा आफूहरूले सारेको उम्मेदवारका सम्बन्धमा माओवादीलाई मनाउन सकिन्छ भन्ने बुझाइमा कांग्रेस देखिन्छ । तर कांग्रेसले पनि सर्वमान्य स्वतन्त्र व्यक्तिभन्दा पहिले दलीय नेतालाई नै प्राथमिकता दिएको छ ।
दलभित्रबाटै रामचन्द्र पौडेल, केबी गुरुङ, कृष्ण सिटौला, मानबहादुर विश्वकर्मा वा अरू कोही उम्मेदवार हुनसक्ने कांग्रेसका नेताहरू बताउँछन् । आफ्नो नेताका विषयमा सहमति नजुटे र माओवादीले कुनै स्वतन्त्र व्यक्ति स्वीकार्ने अवस्था आए त्यस्तो व्यक्तिलाई अगाडि सार्ने गरी पनि कांग्रेसले तयारी गरेको छ ।
कांग्रेस भित्रबाटै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम राष्ट्रपतिका लागि चर्चामा ल्याइएको थियो । तर पछिल्लो समय केदारभक्त माथेमा, दमननाथ ढुंगानाको नाम पनि कांग्रेसले चर्चामा ल्याएको छ ।
दलको उम्मेदवार अघि सार्दा सहमति नहुने अवस्थामा कांग्रेसले दलनिकट भएका केही पात्रलाई अघि सारेर सहमति जुटाउने प्रयास गर्ने देखिएको छ ।
यस्तो नाममा पनि सहमति नजुटे नेकपा एकीकृत समाजादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरको नामलाई समेत कांग्रेसले विकल्पका रूपमा हेरेको बताइन्छ ।
माथि उल्लेखित नाममा सहमति नजुट्दा राप्रपाका नेता पशुपति शमशेर राणालाई राष्ट्रपति बनाउने भनेर पनि कांग्रेसले कार्ड खेल्न सक्ने स्रोतको दाबी छ । राणालाई राष्ट्रपति बनाउन खोज्दा भारतको साथ र सहयोग समेत पाइने बुझाइमा कांग्रेस छ ।
चमत्कारविना सम्भव छैन कांग्रेसको राष्ट्रपति
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति आफूहरूले सिफारिश गरेकै व्यक्ति हुने दाबी गरेका छन् । ‘हामी फरक ढंगले जाँदैछौं । शीतल निवासमा नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नुहुनेछ,’ बुधवार संसद् भवन परिसरमा शर्माले भने ।
तर, कांग्रेसका युवा नेता गुरु घिमिरे कांग्रेस आफ्नै कमजोरीले सबै सत्ता गुमाएकाले केही पाउने अपेक्षा गरे पनि परिणाममुखी नहुने तर्क गर्छन् ।
‘गठबन्धनबाटै राष्ट्रपति, सभामुख, मुख्यमन्त्री पाइने स्थिति थियो । अहिले कुनै चमत्कार भए मात्र प्राप्त हुने अवस्था छ । राज्यका सम्पूर्ण पदमा पकड हुने सुनिश्चिता थियो, अहिले रणनीतिक प्रयास गर्नुपर्ने ठाउँमा पुग्नुमा हाम्रो ठूलो कमजोरी पनि कारण हो । प्रधानमन्त्री पद छाड्दा सबै प्राप्त हुने थियो,’ घिमिरे भन्छन्, ‘विश्वासको मत दिएर जाँदा अपेक्षा गर्नु एक हिसाबले ठीकै होला, तर माओवादी हाम्रो कित्तामा नआई राष्ट्रपति चुनाव जित्न सकिँदैन । राष्ट्रपति पाउन खोज्नु रणनीतिक होला र तर यो परिणामुखी हुन चमत्कार नै हुनुपर्छ ।’
माओवादीले कांग्रेसलाई समर्थन गर्ने अवस्था नभएको, एकीकृत समाजवादीले वाम पार्टीसँग वार्ता गर्न समिति बनाएको र केपी ओलीलाई राप्रपा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले जुरुक्कै बोकेकाले कांग्रेसको प्रयास परिणाममुखी नहुने घिमिरेको तर्क छ ।
स्वतन्त्र व्यक्तिलाई अघि सार्दा पनि २६ हजार मत कट्ने ग्यारेन्टी नभएको उनले बताए ।