०५ साउन २०८३, मंगलबार

जितुले ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा यसकारण लिए प्रियंकालाई

जितुले ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा यसकारण लिए प्रियंकालाई

चर्चित हास्य अभिनेता जितु नेपाल ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको तयारीमा छन् । माघको २० गतेबाट प्रदर्शनमा आउने उनको फिचर चलचित्र ‘ह्यारीकी प्यारी’ रिलिजको केही हप्तामै उनले कमेडी क्लबको नयाँ सिजन प्रसारणमा ल्याउनेछन् । 

नयाँ सिजनमा कलाकारसहित अध्यक्ष समेत परिवर्तन गरिएको छ । अभिनेत्री प्रियंका कार्कीलाई नयाँ सिजनमा दर्शकहरुले अध्यक्षको भूमिकामा देख्न पाउनेछन् । 

पहिलो सिजनमा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र दोस्रो सिजनमा अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष रहेका थिए । अध्यक्षमा निरन्तरता नदिने करिष्माकै आग्रहअनुसार तेस्रो सिजनमा नयाँ अध्यक्ष राखिएको ‘मुन्द्रेको कमेडी क्लब’का प्रस्तोता अभिनेता जितुले जानकारी दिए । 

‘करिश्मा दिदीले पहिल्यै पनि म धेरै समय साथ दिँदिन् है भनेर भन्नुभएको थियो । मैले हवस् भनेको थियो’ जितुले लोकान्तरसँग भने, ‘पछि उहाँले अब तिमी चेन्ज गर है जितु भनेर भन्नुभएको थियो । अनि प्रियंकाजीलाई लिने निर्णय गरेका हौँ ।’

उनले अभिनेत्री प्रियंका कार्कीसँग यसअघि चलचित्र लगायतमा धेरैपटक सहकार्य गरेको र रमाइलोसँगै सहकार्य भएको स्मरण गरे ।

‘नयाँ अध्यक्ष राख्नुपर्दा प्रियंकाजी नै पहिले दिमागमा आउनुभयो’ जितुले अगाडि भने, ‘अनि एकपटक उहाँलाई कुरा राखौँ न त कुन रुपमा लिनुहुन्छ भनेर कुरा राखेँ । उहाँ एकदमै सकारात्मक हुनुभयो ।’ 

जितुले प्रियंकाको खुलेर तारिफ समेत गरे । प्रियंकालाई अध्यक्षमा सुहाउँछ भन्ने लागेपछि नयाँ अध्यक्षको रुपमा तय गरिएको उनले स्पष्ट पारे ।

‘उहाँ काम भनेपछि एकदमै मरि मेटने । सबैकुरा बुझेकी । एकदमै हँसिली, हाँसिरहने । हामी उहाँसँग यसो कमेडी गर्दा पनि सुहाउँछ भन्ने लागेपछि फाइनल गरेको हुँ’ – उनले भने । 

कतिपयले कमेडी क्लबको अध्यक्षमा हास्य क्षेत्रकै कलाकार राख्न समेत सुझाउने गरेका थिए । ‘हास्य क्षेत्रकै राख्दा हामी खुम्चिछौं कि जस्तो लाग्छ । त्यसले चलचित्रको प्रतिनिधित्व गर्यो नी’ – अध्यक्षमा चलचित्र क्षेत्रको कलाकार राख्नुको कारणबारे जितुले प्रष्टयाए । 

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनमा दमन रुपाखेतीसहितका कलाकारले प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो सिजनमा देखिनेछन् । पुरानोभन्दा केही फरक रूपमा नयाँ सिजन आउने जितुले जानकारी दिए ।

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको शीर्ष गीत समेत तयार भइसकेको छ । यसअघि जितु स्वयंमको निर्देशन रहेको ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनलाई भने डिनेश डिसीले निर्देशन गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्