३० असार २०८३, मंगलबार

गाउँमै स्वास्थ्य सेवाको पहुँच, स्थानीय खुशी

गाउँमै स्वास्थ्य सेवाको पहुँच, स्थानीय खुशी

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने बाध्यता थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । अहिले गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्यचौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा ल्याएको छ । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताइन् । उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बागलुङ पुग्नेगरेको अनुभव सुनाइन् । गाउँपालिकाले आफूहरूको समस्या बुझेर गाउँमै उपचारको व्यवस्था भएपछि अहिले खुशी लागेको उनको भनाइ छ । 

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेका थिए । अहिले बिरामी हुनेबित्तिकै स्वस्थ्यचौकी पुगेर जाँच गर्ने र ठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उनले बताइन् । 

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बनाउन गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । नागरिक बिरामी परेमा घण्टौं लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही सहज बनाउन सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनले बताए । 

“काठेखोलाका धेरैजसो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिक सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने अवस्था थियो, यहाँको समस्यालाई मध्यनजर गरी पालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालेका छौँ, अब नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ” उनले भने । 

गाउँपालिका स्थापना हुनु पहिले सातवटा स्वास्थ्यचौकी थिए । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्यचौकीबाट एक्सरे सेवासहित ल्याब सेवा पनि सञ्चालनमा ल्याएको बताए । अहिले सातवटै स्वास्थ्यचौकीमा ल्याब लेखानी र रेश स्वास्थ्यचौकीमा ल्याबसहित एक्सरे सेवा रहेको उनको भनाइ छ । उनका अनुसार सातवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्