२३ असार २०८३, मंगलबार
चलचित्र

डा. भोला रिजालको फिल्ममा ‘लिड हिरो’ बनेका जितु नेपाल

‘फिल्मको लिड हिरो तपाईं हो भनेर सुनाउँदा आश्चर्यमा परेको थिएँ’
माघ २१, २०७९
डा. भोला रिजालको फिल्ममा ‘लिड हिरो’ बनेका जितु नेपाल

धेरैलाई जानकारी नहुन सक्छ, ‘मुन्द्रे’को उपनामले दर्शकमाझ छाएका हाँस्य अभिनेता जितु नेपालले ३ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । 

यो कुरा चाहिँ धेरैलाई जानकारी छ कि उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टीममा रहेर चलचित्रमा देखिँदै आएका थिए । 

दीपक–दीपाको टीमको ‘छ एकान छ’देखि ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ हुँदै ‘छ माया छपक्कै’सम्ममा जितुले अभिनय गरेका छन् । यद्यपि त्यसअघि उनले सानोतिनो भूमिकामा थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।

‘डायरीमा लेखेर राखेको छु । गनेको चाहिँ छैन । सानोतिनो भूमिकामा गरेका सबै गर्दा ४० वटा जति भयो होला,’ जितुले भने ।

‘देउराली’, ‘दुई किनारा’, ‘सगुन’, ‘पूजा’, ‘अंगालो अंगालोमा’, ‘दर्पण छायाँ’, ‘लहना’, ‘किस्मत’ जस्ता पुराना थुप्रै चलचित्रहरु छन्, जसमा जितुले अभिनय गरेका छन् ।

यतिबेला भने उनी पहिलोपटक सोलो लिड अभिनेताको रूपमा हलहलमा प्रवेश गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जितुले जोडी बाँधेको चलचित्र ‘ह्यारी कि प्यारी’ शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

प्रदर्शनको ३ दिनअघि गरिएको प्रिमियरमा अतिथिका रूपमा निम्तालु चलचित्रकर्मीबाट चलचित्रले तारिफ पाइसकेको छ ।

अब दर्शकहरूले चलचित्रलाई कस्तो रूपमा लिने हुन् भन्ने कुरा यतिबेला जितुको मनमा खेलिरहेको छ । लिड भूमिकामा प्रस्तुत भएको पहिलो चलचित्र भएका कारण यसले आफूलाई स्थापित गर्छ/गर्दैन भन्ने आफ्नो मनमा खेलिरहेको उनले बताए । 

चलचित्रमा उनले हाँस्य कलाकारबाट अलिकति पछि हटेर इमोसनल –भावनात्मक) भूमिका निर्वाह गरेका छन् । त्यसलाई दर्शकहरूले कसरी लिन्छन् भन्ने कुरा पनि आफ्नो मनमा खेलिरहेको जितु सुनाउँछन् । ‘यसले व्यापार पनि त गर्नुपर्‍यो । चलचित्र पनि चल्नुपर्‍यो । निर्माता सुरक्षित हुनुपर्‍यो,’ उनी भन्छन्, ‘सबैभन्दा राम्रो यसले व्यापार गर्नुपर्छ । दर्शकहरूले रुचाउनुपर्छ ।’

‘कथा सुनिसक्दा थाहा थिएन लिड रोलमा म हुँदैछु’

डा. भोला रिजाल निर्माता रहेको ‘ह्यारी कि प्यारी’लाई डा. कपिल रिजालले लेखन एवं निर्देशन गरेका हुन् । दन्त चिकित्सक रहेका कपिल वरिष्ठ चिकित्सक डा. भोला रिजालका जेठा छोरा हुन् । 

उनको डेब्यू निर्देशन रहेको चलचित्र रोमान्टिक, कमेडी जनरामा निर्माण भएको हो । 

अभिनेता जितुका अनुसार चलचित्रको कथा सुनिसक्दा लिड रोलमा आफू हुँदैछु भन्ने उनलाई थाहा थिएन । छायाँकार सुदीप बरालले उनलाई चलचित्रको कथा सुन्नुपर्ने भयो भनेर भेट्न बोलाएका थिए । डा. कपिल रिजाललाई जितुले त्यहीँ भेटेका थिए । 

‘म खेल्ने भन्ने कुरा थिएन । भाइहरूले चलचित्र बनाउन लागेको होला र कथा सुन्न बोलाएको होला भन्ने थियो । कथा सुनियो, राम्रो लाग्यो,’ जितुले अगाडि भने, ‘कथा सुनिसक्दा लिड रोलमा म हुँदैछु भन्ने थाहा थिएन तर पछि निर्देशकले चलचित्रको लिड हिरो तपाईं हो भनेर सुनाउँदा एकदमै आश्चर्यमा परेको थिएँ ।’ 

त्यसपछि जितुले लेखक एवं रिजाललाई सोधेका थिए, ‘मलाई हिरो बनाउँदा ठीक होला र दाइ ?’

निर्देशकले जवाफ दिए, ‘हाम्रो कथाले खोजेको पात्र तपाईं नै हो । तपाईंलाई नै लिड रोलमा लिने हो । हामीले छलफल गरेरै निर्णय गरेका हौं ।’

‘साम्राज्ञीले मसँग चलचित्र खेल्नु हुँदैन कि जस्तो लागेको थियो’

निर्देशकले चलचित्रको हिरोइन साम्राज्ञी हुने बताउँदा पनि जितु आश्चर्यमा परेका थिए । उनले प्रश्न तेस्र्याएका थिए, ‘उहाँ खेल्नुहुन्छ र ?’ 

‘चलचित्रको कथाअनुसार साम्राज्ञी प्रफेक्ट थियो तर उहाँले चलचित्र खेल्नुहुन्न कि भन्ने थियो,’ जितुले लोकान्तरसँग भने, ‘कमेडियनहरूसँग चलचित्र खेल्नुहुन्न कि भन्ने मलाई लागेको थियो ।’ 

‘छक्का पञ्जा २’मा साम्राज्ञीलाई अफर पुगेको बताउँदै विविध कारणले उनले त्यसबेला अभिनय नगरेको हुनाले पनि आफूमा त्यो बुझाइ रहेको जितुले बताए । 

निर्देशक रिजालले साम्राज्ञीले चलचित्र खेल्ने पक्का गरिसकेको बताएपछि जितु उत्साहित भएका थिए । ‘उहाँ बोल्ड छवि बनाएकी अभिनेत्री । म कमेडियन । उहाँ अत्यन्तै सुन्दरी, म ठीकै छु । हाइट त्यसै पनि नमिल्ने । मैले यसो सोचे, यो प्रकारको लभ, केमेस्ट्री राम्रो हुन्छ,’ जितुले भने, ‘त्यसपछि तपाईंले सोचेको ठीकै हो भनेर कपिल दाइलाई भनें ।’

दयाहाङ, विपिनहरू नआइदिएको भए ?

कुनै समय हिरोको मानक फरक थियो । हिरो हुन अग्लो ज्यान, सुगठित शरीर, लामो कपाल हुनुपर्छ भन्ने बुझाइ थियो तर जब पर्दामा दयाहाङ राई, विपिन कार्की, सौगात मल्लहरूको धमाकेदार उदय भयो, त्यसपछि हिरोको मानक फेरियो । 

यतिबेला निर्माता एवं निर्देशकले पात्रमार्फत जो कोहीलाई हिरो बनाउन सक्छन् । जितुलाई सोधियो, ‘दयाहाङ, विपिनहरू नआइदिएको भए आज तपाईंलाई चलचित्रको लिड भूमिकामा देख्न पाइन्थ्यो ?’

जितुले उनीहरूको आगमनले आफूलाई लिड हिरोमा प्रस्तुत हुन केही सहज भएको बताए । ‘उहाँहरू आएपछि त्यो ‘ट्रेन्ड’ चलेको छ र मलाई पनि अवसर मिल्यो । यद्यपि यो कुरा निर्माता एवं निर्देशकमा पनि निर्भर रहन्छ,’ उनले भने । 

सोचेभन्दा फरक लाग्यो साम्राज्ञी

‘ह्यारी कि प्यारी’ केही समयको वर्कशपपश्चात फ्लोरमा निस्किएको थियो । जितुले अभिनेत्री साम्राज्ञीलाई लिएर सोचेका थिए, त्यति धेरै नबोल्ने बानी होला । सुटिङ त निर्देशकले भनेपछि गरिहाल्नुपर्‍यो, त्यसपछि अलि गमक्क परेर बस्ने बानी होला । खासै घुलमिल पनि नहुने होला ।
 
‘तर मैले सोचेभन्दा फरक पाएँ । २–३ दिन सुटिङ गरेपश्चात नै धेरै पहिल्यैदेखि काम गरिरहेको जस्तो भयो,’ जितुले साम्राज्ञीबारे भने, ‘खुलेर कुरा गर्नुभयो । छिट्टै घुलमिल भयौं । सुटिङमा पनि एकदमै सहयोग गर्नुभयो ।’ 

'चलचित्र चलोस् भन्ने छ, नचले फेरि प्रयास गर्नुपर्छ'

पहिलोपटक लिड हिरोका रूपमा प्रस्तुत भएका कारण पनि चलचित्र चल्नुपर्ने चुनौती जितुमा छ । यद्यपि आफूले जीवनमा कुनै काम गर्दा धेरै सोचेर नगर्ने गरेको बताउँदै उनी थप्छन्, ‘चलचित्र चलेन भने म सिद्धिइहाल्छु भन्ने मलाई लाग्दैन । किनभने मैले फेरि प्रयास गर्नुपर्छ ।’ उनी आफूले हरेक काम एकदमै राम्रो र मेहनत गरेर गर्ने गरेको बताउँछन् ।

‘फूटबलमा गोल गर्ने चाहना सबैको हुन्छ । यद्यपि गोल नगरेका खेलाडीहरूले पनि राम्रो खेल खेलिरहेका हुन्छन् । हरेक समय गोल हुनसक्छ भन्ने छैन । म त्यो प्रकारको खेलाडी हुँ,’ जितु भन्छन्, ‘संसारमा मेस्सी, रोनाल्डो, नेइमार जस्ता केही खेलाडी मात्रै वल्र्डवाइड फेमस छन् तर तिनलाई साथ दिने खेलाडी कैयौ छन् । उनीहरू खेलिरहेका छन् । म पनि खेलिरहन्छु । अगाडि आइरहन्छु ।’

आफ््नो कमेडीको विधामा भने सधैं सक्रिय रहिरहने जितुले बताए । आफैं चलचित्र निर्माणको पनि तयारीमा रहेका उनले केही हप्तामै ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन दर्शकमाझ ल्याउँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्