काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ ।
भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं देखिन थालेका छन् ।
महानगरपालिकाले वीर अस्पताल, काठमाडौं मल, नयाँ बानेश्वर लगायतका क्षेत्रमा नक्साविपरीत बनेका अनधिकृत संरचनामा डोजर चलाएर भत्काएको थियो । भत्काइएका क्षेत्रको उचित व्यवस्थापन नहुँदा शहर अव्यवस्थित र कुरूप देखिएको छ ।
पैदलयात्री हिँड्नुपर्ने सडकपेटीमा भत्काएर छरपष्ट इँटाका टुक्रा र फलामका छड यत्तिकै छन् । जसका कारणले हिँड्न निकै अप्ठ्यारो भइरहेको छ ।
कर्मचारी सञ्चय कोषको सुन्धारा भवन (जुन काठमाडौं मल नामले प्रचलित छ) को बाहिरी भाग काठमाडौं महानगरले भत्काएको महिनौं बितिसकेको छ ।

तर, न यसलाई बनाउन सञ्चय कोषले तदारुकता दिएको छ, न त महानगरले नै छिटो बनाउन ताकेता गरेको छ । त्यस भवनबारे बुझ्दै जाँदा कर्मचारी संचय कोषका कायममुकायम मुख्य प्रबन्धक एवं प्रवक्ता दामोदरप्रसाद सुवेदीले भने, ‘धरहरा बन्ने क्रममा कर्मचारी सञ्चय कोषको केही भूभाग धरहरालाई दिनुपर्ने र सोबापत हुलाकको जग्गा हाम्रो संस्थाले प्राप्त गर्नुपर्ने हुँदा केही समस्या भएको हो । जग्गा आदानप्रदान गर्दा हामीले काठमाडौं मलसहितको नयाँ नक्सा बनाउनुपरेको छ । नयाँ नक्सा पास गर्न भनेर महानगरपालिकामा निवेदन पेश गरिसकेका छौं । दर्ता प्रक्रिया पनि सबै भइसकेको छ, तर महानगरपालिकाबाट त्यसपछिको प्रक्रियामा कुनै प्रतिक्रिया नआउँदा काम शुरू गर्न नसकेका हौं । उताबाट नक्सा स्वीकृत भएर आउनासाथ हामीले मर्मत सम्भारको काम शुरू गरिहाल्नेछौं ।’

लोकान्तरसँगको कुराकानीमा उनले थपे, ‘होइन भने हामी आफ्नै किसिमले मर्मत सम्भार गरौंला, फेरि महानगरपालिकाले आएर भत्काइदेला, यो त राम्रो हुँदैन नि ।’
वीर अस्पताल भवनको अवस्था बुझ्न जाँदा उपसचिव एवं प्रवक्ता सागर मिश्रले महानगरले भत्काएको क्षेत्र आगामी बजेटमार्फत स्रोत सुनिश्चित गरेर मात्र बनाइने जानकारी दिए ।

‘भत्काइएको क्षेत्रमा मेडिकल पसलहरू अव्यवस्थित थियो तर हाम्रो नक्सामा बगैंचा रहेछ । त्यतिबेला भवन निर्माण गर्ने क्रममा सोचिएनछ, तर महानगरपालिकाले अनधिकृत संरचना भत्काउने अभियान चलाइरहँदा आएर भत्काइहाल्नुभयो । अब हामी त्यो आफैं बनाउँछौं । त्यहाँ नक्सामा जे छ, त्यही बनाउँछौं । त्यहाँ कम्पाउन्ड लगाउने काम गर्छाैं । सोहीअन्तर्गत भत्काइएको क्षेत्रमा आगामी बजेटमार्फत स्रोत सुनिश्चित गरेर निर्माण कार्य अगाडि बढाउँछौं,’ प्रवक्ता मिश्रले लोकान्तरसँग भने ।
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :








