
११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । बिहीवार राजधानीको सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे ।
नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा अवार्डको आगामी सँस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो ।
अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका विमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै फिल्मको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु आफूहरूको उद्देश्य रहेको बताए । ‘हाम्रो अन्तिम उद्देश्य भनेको भाषा, कला र संस्कृतिलाई विश्वमाझ फैलाउने नै हो’ अध्यक्ष केसीले भने, ‘अन्तर्राष्ट्रियकरणका लागि अवार्ड महत्वपूर्ण कुरा हो ।’
नेपाली फिल्मको विकास नहुनुमा नयाँ चलचित्र ऐन नबन्नु मुख्य जिम्मेवार रहेको बताउँदै अध्यक्ष केसीले यसतर्फ सञ्चारमन्त्रीसँग आफूले छलफल गरिरहेको बताए ।

नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र फिल्मलाई प्रवर्द्धन गर्नु रहेको बताए ।
नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्नसक्ने बताए ।
‘हामीले विगतदेखि नै नेफ्टालाई विभिन्न विदेशी मुलुकमा गरिरहेका छौँ । यसको उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हो’ अध्यक्ष लामाले भने ।
आयोजक संस्था फेम नेपालका अध्यक्ष विमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरूले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको बताए । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनले जनाए ।
टेक्सासस्थित नेपाली समुदायलाई समेटेर झण्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएको समेत उनले जनाए । उक्त परेडमा सातै प्रदेशको संस्कृति र भेषभूषा झल्कने झाँकी प्रस्तुत गर्ने तयारी छ ।
अर्को आयोजक संस्था युएस खबरका ओम आचार्यले नेफ्टाले विगतमा कायम राखेको गरिमालाई जोगाउनु चुनौतिपूर्ण हुने बताए । उनले पनि अवार्ड समारोहमा भारतीय र अमेरिकी फिल्म उद्योगका हस्तीलाई सहभागी गराउन प्रयास हुने बताए । ‘हामी उनीहरूको कुरा सुन्छौं र नेपाली फिल्मको कुरा पनि उनीहरूलाई सुनाउँछौं । पर्यटनसँग पनि जोड्छौं’ आचार्यले भने ।

आर्यन फिल्म्सका प्रमुख तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको अन्तर्राष्ट्रियकरणमै जोड दिए । वरिष्ठ अभिनेत्री बसन्धुरा भुषालले पनि अवार्ड सफलताको शुभकामना दिइन् ।
कार्यक्रममा गायक प्रेमराजा महत, कलाकारहरू चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठसहित दर्जनौं कलाकर्मी उपस्थित थिए । अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ ।