२३ असार २०८३, मंगलबार

पुष्पलाई प्रश्न – अब पनि फिल्म नचले पैसा फिर्ता गर्नुहुन्छ ?

पुष्पलाई प्रश्न – अब पनि फिल्म नचले पैसा फिर्ता गर्नुहुन्छ ?
फाइल तस्वीर

शुक्रवारदेखि पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’ प्रदर्शनमा आएको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रवार दिउँसो राजधानीमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । जहाँ फिल्मका कलाकारहरू र सञ्चारकर्मीहरूले ‘मनसँग मन’ हेरेका थिए ।

उक्त शोमा फिल्म हेरेपश्चात अभिनेता पुष्पले पारिश्रमिक फिर्ताबारेको प्रश्नको सामना गर्नुपर्यो । उनले यसअघि ‘कृष्ण लीला’ फिल्म नचलेपछि पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेका थिए ।

उनले कोरोना महामारीलगत्तै उक्त फिल्म प्रदर्शनमा आएका कारण आफूले पारिश्रमिक फिर्ता गरेको बताए ।

कठिन समयमा निर्मातालाई बचाउनुपर्ने भन्दै पारिश्रमिक फिर्ता गरेको उनको आशय थियो । ‘यो फिल्म नचले पारिश्रमिक फिर्ता गर्नुहुन्छ ?’ सञ्चारकर्मीको प्रश्नमा पुष्पले भने, ‘सबै फिल्म चलेन भने पैसा फिर्ता गर्छु भन्दा त भएको घर खेत नै बेचेर आउनुपर्छ । पहिलो फिल्म कोरोनाको थियो, सो बेलामा फिल्म चल्ने र व्यापार गर्ने सम्भावना कम नै थियो । त्यसलाई मध्यनजर गरेर नै मैले त्यो निर्णय लिएको थिए ।’

प्रेमकथामा निर्माण भएको ‘मनसँग मन’ फिल्मको एउटा गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

वर्षा र पुष्पको अलवा बुद्धि तामाङ, रवीन्द्र झाको पनि फिल्ममा मुख्य भुमिका छ । फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । फिल्ममा अरुण तामाङको लगानी छ ।

अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ ।

salt training

कमेन्ट गर्नुहोस्