![प्रहरीबाट कुटिएका डाक्टरको गुनासो– टाउकेहरूले सहमति गरे, हराएको सामान कसले दिन्छ ? [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Jafid_Alam_oZdMYY2mkv.png)
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका ट्रमा सेन्टरका डा. जाफिद आलमले सरकार र चिकित्सकहरूबीच भएको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रवार राष्ट्रपति भण्डारी संसद्मा सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले डा. आलममाथि हातपात गरेका थिए । लोकान्तसँग आइतवार ट्रमा सेन्टरमा कुराकानी गर्दै डा. आलमले आफ्ना विषयहरू नसमेटी वार्ता र सहमति गरेकाले आफूलाई चित्त नबुझेको बताएका हुन् ।
‘माथि टाउकेहरूले आफ्नो हिसाबले वार्ता गर्नुभयो । मेरो विषयमा विज्ञप्तिमा कुनै पनि सम्बोधन भएको छैन,’ डा. आलमले भने, ‘प्रहरीले गरेको हातपातमा मेरा निजी कागजात र धनमाल हराएको छ । त्यस विषयमा पनि कुनै सम्बोधन भएको छैन ।’
उनले ६० हजारको मोबाइल, १ लाख २० हजार पर्ने औंठी, घडी, पर्स र त्यसमा भएका डकुमेन्टहरू हराएको दाबी गर्दै त्यस विषयमा कुनै कुरा उल्लेख नगरी सहमति भएको गुनासो गरेका हुन् । हराएको धनमालबापत क्षतिपूर्ति उपलब्ध हुनुपर्ने उनको माग छ ।
उनले आफूलाई इन्स्पेक्टरले लात हाने पनि तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गरिएको गुनासो पनि गरेका छन् । ‘मलाई एस.पी. नाम गरेर इन्स्पेक्टरले बुटले हानेका हुन् । उनलाई कारबाही किन भएन ? उनलाई उम्काउन अरूलाई मात्र कारबाही गरियो,’ डा. आलमले भने ।
काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले उनको मोबाइल घटनास्थलमा भेटिएकाले प्रहरी वृत्त जनसेवामा सुरक्षित राखिएको तर उनले भनेअनुसारका अन्य धनमालका विषयमा जानकारी नभएको बताए ।
‘हामीले घटनाको दिन मोबाइल फेला पारेर प्रहरी वृत्त जनसेवामा सुरक्षित राखेको छौं, तर अन्य विषयमा जानकारी छैन,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।
हेर्नुहोस्, भिडियो :