२१ असार २०८३, आइतबार

दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले कस्तो पाउँदैछ दर्शकको साथ ?

निर्देशक डा. कपिल रिजाल भन्छन् – पेसेन्ट आइसियूबाट वार्डमा जाने भइसक्यो
दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले कस्तो पाउँदैछ दर्शकको साथ ?

माघ २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ ।

चलचित्रले पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ बढी पाएको छ । 

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकहरुको संख्या बढिरहेको निर्देशक डा. कपिल रिजालले बताए ।

‘शनिवार साँझका धेरै शोहरु हाउसफुल भए । हलले शो पनि बढाइरहेका छन्’ निर्देशक डा. रिजालले भने, ‘पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ धेरै राम्रो छ । परिवारसहित चलचित्र हेर्न आउनेहरूको संख्या धेरै देखिएको छ ।’ 

पहिलो सातामा चलचित्रमा दर्शकको उपस्थिति अपेक्षित नहुँदा निर्देशक डा. रिजालले भनेका थिए, ‘मेरो पेसेन्ट आइसियूमा छ ।’ दोस्रो साताको सोमवार लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘चलचित्र आइसियूबाट वार्डमा जाने भइसक्यो ।’

बलिउड चलचित्र ‘पठान’ प्रदर्शनरत हुँदा पनि आफ्नो चलचित्र ‘सर्भाइभ’  भएर दोस्रो सातामा दर्शकको साथ पाइरहेकोमा निर्देशकले खुशी व्यक्त गरे । 

पहिलो सातामा अपेक्षाकृत दर्शक नपाएको चलचित्रको व्यापार दोस्रो सातामा किन बढ्यो ? निर्देशक डा. रिजाल भन्छन्, ‘हेरेका दर्शकहरुले चलचित्र मन पराउनुभयो । अहिले विदा पनि बढी परेको छ । दर्शकहरुको समय पनि निस्किँदै गए होला ।’

उनी चलचित्रले १ करोड भन्दा बढी ग्रस कलेक्सन गरिसकेको आँकलन गर्छन् । यद्यपि, यकिन रिपोर्ट भने नआइसकेको निर्देशक रिजालले बताए । 

मंगलवार भ्यालेन्टाइन डेमा चलचित्रले अझ राम्रो व्यापार गर्ने निर्माण टिमको विश्वास छ ।

दर्शकहरुको उपस्थिति हेर्दा आउँदो साता पनि चलचित्रले शो पाउने विश्वास निर्माण टिमको छ । पेशाले दन्त चिकित्सक रहेका डा. कपिल रिजालको यो निर्देशकीय पहिलो चलचित्र हो । उनी वरिष्ठ डा. भोला रिजालका छोरा हुन् ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा डा. भोला रिजाल छन् । 

चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय छ ।

फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा यस चलचित्रले पेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्