
नेपालबाट थाइल्याण्ड लागूऔषध चरेश ओसारपसार गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आज ४ जना थाई नागरिकसहित २३ किलो ८०० ग्राम चरेशसहित नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ गरेको छ ।
प्रहरीले माघ २८ गते पक्राउ गरेर थाई नारिक ४८ बर्षीया योवालुक जुवावश्री, ४२ बर्षीया प्रिचार्ट पुमपुर्क, २४ बर्षीय नाट्टापोल त्रिचिया र १९ बर्षीया नाटनारी त्रिचियालाई आज (मंगलबार) सार्वजनिक गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार उनीहरु यसभन्दा अगाडि पनि नेपाल आएर गएको देखिएको छ ।
उनीहरू पहिलो पटक सन् २०२२ डिसेम्बर १७ गते नेपाल आएर २ दिन बसेर फर्किएको देखिएको छ । उनी दोस्रो पटक माघ २६ गते नेपाल आएका थिए । उनीहरू २ दिन नेपाल बसेर फर्किन लागेको अवस्थामा लगेजमा २३.८ केजी चरेशसहित पक्राउ परेका छन् ।
उनीहरू थाइल्याण्ड एयरलाइन्सबाट नेपाल आएर ठमेलको एउटा होटलमा बसेर फिर्कन लागेका थिए । प्रारम्भिक बयानमा आफूहरूलाई अरू कसैले प्याक गरेर दिएको लगेज लिएर जान लागेको उनीहरूले बताएका एसएसपी खनालले बताए ।
उनीहरूले अघिल्लोचोटि आउँदा लागूऔषध लगेको देखिएको छैन ।

‘अहिलेसम्मको अनुसन्धानमा उनीहरूले अघिल्लो पटक आउँदा लागूऔषध लगेको पुष्टि भएको छैन,’ एसएसपी खनालले भने, ‘उनीहरू पहिलो पटक आउँदा नेपालको एयरपोर्टको सुरक्षा अवस्थाको निगरानी र यहाँ प्रहरीहरूलाई बुझ्न आएको देखिएको छ ।’
यसले नेपालको एयरपोर्टबाट लागूऔषध तस्करी हुन लागेको संकेत देखिएको छ । उनीहरूसँगै आएका नाट्टापोल भने पहिलो पटक नेपाल आएको ब्यूरोले जनाएको छ ।
नेपालमा लागूऔषध सप्लाई गर्ने भारतीय मुख्य नाइके समाइए
लागूऔषध नियन्त्रण ब्यूरोले भारतबाट नेपालमा लागूऔषध सप्लाई मुख्य नाइकेलाई पक्राउ गरेको छ । भारतको बिहार बधुवनी पटनामा बसेर नेपालमा नाइट्राभोट ट्याबलेट, डाइजेपाम र पेनरागन सप्लाई गर्ने मुख्य नाइके फेज अमहदलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ ।
उनले धनुषा औरही–४ बस्ने रिहासद उर्फ अयाज रेजालाई सप्लाई गर्ने गरेको उनले फेरी उनकै तरकारी पसलमा काम गर्ने जाकिर नदाफले सोलुखुम्बुका माप्यदुधकोशी–४ का लाक्पा शेर्पालाई सप्लाई गर्ने गरेको देखिएको एसएसपी विकासराज खनालले बताए ।
उनका अनुसार लाक्पाले काठमाडौंमा डेरा लिएर काठमाडौंका विभिन्न व्यक्तिहरूलाई बिक्री गर्ने गरेको खुलेको छ । रिहासदले तराईबाट काठमाडौं तरकारी पठाउँदा गाडीमा तरकारीको बीचमा राखेर लागूऔषध सप्लाई गर्ने गरेका अनुसन्धानमा देखिएको छ ।
प्रहरी लाक्पा शेर्पाको डेराबाट २० हजार ३ सय नाइट्राभेट र ४ लाख १७ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । प्रहरीले लाक्पालाई पक्राउ गरेर उनलाई अनुसन्धान गर्दा हिसाद, फेज अहमद र जाकिर नदाफ पक्राउ परेका थिए ।
प्रहरीले खैरो हेरोइन ३९ ग्रामसहित मोरङका ३४ वर्षीय रोशन रिसाल र ३५ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक श्रवणकुमार महरालाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई प्रहरीले पछिल्लो एक हप्तामा पक्राउ गरेर आज (मंगलबार) सार्वजनिक गरेको हो ।
प्रहरीले बरामद गरेको चरेशको अवैध मूल्य प्रतिकेजी ३५ हजारका दरले ८ लाख ३३ हजार, बरामद एम्पुलहरूको मूल्य ३४ लाख १० हजार, नाइट्राभेट ट्याबलेटको मूल्य ३ लाख ८८ हजार ५ सय र खैरो हेरोइनको मूल्य ५ लाख १० रहेको जनाएको छ ।