२१ असार २०८३, आइतबार
गगनको अभिव्यक्तिमाथि प्रश्न

सरकार ढाल्ने गगनको खुला चेतावनी– जिम्मेवार नेताको 'आलोकाँचो' अभिव्यक्ति

फागुन ३, २०७९
सरकार ढाल्ने गगनको खुला चेतावनी– जिम्मेवार नेताको 'आलोकाँचो' अभिव्यक्ति

‘पुस १० गते निर्माण भएको सत्ता गठबन्धन फागुन १० गतेसम्ममा भत्काएरै छाड्छौं । अँध्यारोमा होइन, दिउँसो उज्यालोमा आएर भत्काउने हाम्रो प्रयास हुन्छ, भत्काउँछौं । त्यो कुनै गलत कुरा भएन ।’ 

कांग्रेस रूपन्देही– १ ले सोमवार तिलोत्तमामा गरेको अगुवा कार्यकर्ता भेलामा कांग्रेस महामन्त्री गगन थापाले दिएको यो भाषणलाई धेरैले स्वाभाविक रूपमा लिएका छैनन् । 

सत्ता गठबन्धनमा रहेका मुख्य दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति चुनावलाई लिएर अनेक आशंका छ । सत्ता गठबन्धनमा देखिएको आशंकाबाट उत्साहित हुँदै कांग्रेस नेताहरूले गठबन्धन भत्काउने खुलमखुला चेतावनी दिइरहेका छन् ।

प्रमुख पार्टीका जिम्मेवार नेताले विना तथ्यांक दिने यस्ता अभिव्यक्तिले राम्रो सन्देश नजाने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । 

‘गगन थापाजस्तो नेताले यसरी हावा तालमा बोल्नु नेपाली राजनीतिको विडम्बना नै हो, किनी उनी उदीयमान नेता हुन् । यस्तो नेताले जथाभावी बोल्नुहुँदैन । यसरी बोल्दा व्यक्तिगत क्षति हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘यो नेता हावा छ भन्ने सन्देश जान्छ । नैतिकवान, जिम्मेवार र उत्तरदायी नेताले कार्यकर्ताले के भन्दा ताली बजाउँछन् भन्ने सोचेर बोल्नु हुँदैन ।’

संविधानले संसद्को कार्यकाल ५ वर्षको हुने भनेकाले संसद्बाट जन्मिएको सरकारको कार्यकाल पनि त्यही अनुसार हुने तर्क गर्दै श्रेष्ठले सरकार बनेको १०० दिन पनि नभई ढाल्छौं भन्दै हिँड्न उचित नभएको बताए । यसले राजनीतिक अस्थिरतालाई मलजल गर्ने उनको तर्क छ ।

‘समय र परिस्थितिले सरकारले बहुमत नगुमाउने अवस्था भयो भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘दुई महिनाअघि मात्रै बनेको सरकार लगत्तै ढाल्छौं, गिराउँछौं भनेर गर्व गर्नुले कसैको महत्त्व बढ्दैन, बरु यसले देशमा अस्थिरताको शुरूआत गर्नेछ ।’

गनले दाबी गरेजस्तो सरकार तत्काल ढलिहाल्ने संकेत नदेखिएको उनको भनाइ छ ।

‘एमालेको समर्थन रहेसम्म सरकार ढलिहाल्छ जस्तो लाग्दैन । अहिलेसम्म एमाले, माओवादी, रास्वपा र राप्रपा एक ठाउँमा उभिएका छन्,’ श्रेष्ठ भन्छन्, ‘आजका दिनसम्म सरकारले समर्थन गुमाउने र अर्को समीकरण बन्ने संकेत छैन ।’

गगनको टिप्पणी रणनीतिक कि हचुवा ? 

राष्ट्रपति चुनावको सम्भावित समीकरण र सकसलाई लिएर गठबन्धनमा आशंका छ । यही आशंकालाई बल दिन थापाले यस्तो टिप्पणी गरेको हुन सक्ने कांग्रेसका एक नेता बताउँछन् ।  

‘१० फागुनमा सरकार नै ढल्ने गरी परिस्थिति बनिसकेको छैन । तर गठबन्धनमा समस्या छ । समस्या बढेपछि भत्किन्छ भनेर आत्मविश्वासमा गगनजीले बोलेको हुनुपर्छ,’ ती नेता भन्छन्, ‘तर्साउन वा शंका बढाउन बोलेको कुरालाई रणनीतिक रूपमा हेर्नुपर्छ ।’

यसरी बोल्दा लाभहानी दुवै हुने विश्लेषण उनले सुनाए ।

‘राजनीतिमा बोलेको जस्तो मात्रै पनि हुँदैन । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग महामन्त्री थापाले ब्याक टु ब्याक भेट्नुभएको छ । केही आधारविना महामन्त्रीजस्तो व्यक्तिले पक्कै नबोल्नुपर्ने हो । यसरी बोल्दा लाभहानी दुवै हुनसक्छ । त्यसको जिम्मेवार उहाँ नै हो,’ उनले थपे ।

बोलेको कुरा पुर्‍याउन नसके गगनमाथि प्रश्न उठ्ने उनको भनाइ छ ।

सोमवार गगनले यो गठबन्धन स्वाभाविक नभएकाले पुरानै गठबन्धन ब्युँतिनुपर्ने जिकिर समेत गरेका थिए ।

‘५ वर्षका निम्ति कांग्रेस, माओवादी, एकीकृत समाजवादीका कोही नेता प्रधानमन्त्री हुन्छौं भनेर मत मागेका होइनौं । यस्तो बैठक र छलफल गरेनौं । म पनि वार्तामा बसेको छु,’ थापाले भनेका थिए, ‘पाँच वर्ष सँगै बसेर परिणाम र सुशासन दिन्छौं भनेका हौं । यो भन्दा दायाँबायाँ जाने हक कोहीसँग पनि थिएन । गल्ती कमजोरी भएपछि सच्याउनुपर्छ । सच्याउने जिम्मेवारी धेरै हदसम्म ठूलो पार्टी कांग्रेसले लिनुपर्छ । यो हाम्रो जिम्मेवारी हो ।’ 

एमालेको राष्ट्रपति हुँदा समानान्तर सत्ता चल्ने डर आफूहरूमा रहेको उनको भनाइ थियो ।

‘हिजो संविधानले नचिनेको कदम चालेर संविधानभन्दा बाहिरको अभ्यास गर्ने कोशिश भयो । आगामी दिनमा एमालेले भनेको उम्मेदवार राष्ट्रपति हुने हो भने यति भन्न सकिन्छ । संविधानले सिंहदरबार चिन्छ । सिहंदरबारको व्यक्ति राति गएर बालुवाटारमा बस्छ भनेर चिन्छ,’ उनले भनेका थिए, ‘कार्यकारी अधिकार कोसँग छ भन्दा प्रधानमन्त्रीसँग छ भनेर चिन्छ । यदि राष्ट्रपति एमालेले भनेको व्यक्ति भयो भने कार्यकारी अधिकारको अभ्यास सिंहदरबारबाट मात्र हुँदैन, शीतलनिवासबाट पनि हुन्छ । समानान्तर सत्ता चल्छ ।’

एमालेले राष्ट्रपति जिते अध्यक्ष ओलीकै घरबाट राष्ट्रपति कार्यालय चल्ने दाबीसमेत गगनले गरेका थिए । ‘एमाले नेतृत्वले कस्तो राष्ट्रपति बनाउन चाहेको छ भने राष्ट्रपतिको कार्यालयबाट कुनै निर्णय गराउनुपर्दा गाडी चढेर शीतलनिवासमा जान नपरोस्,’ थापाले भनेका थिए, ‘लेटरप्याड र स्ट्याम्प पनि आफ्नै कार्यालयमा राखेर त्यहीँबाट विज्ञप्ति निकालिदिनेसम्मको राष्ट्रपति एमालेले खोजिरहेको अवस्था छ ।’ 

विरोधाभाषमा महामन्त्री थापा

यसअघि संसदीय दलको निर्वाचनमा हारेपछि थापाले पुरानो गठबन्धन टिकाउन प्रभावकारी अग्रसरता नलिएको आरोप लागेको थियो । सभापति शेरबहादुर देउवाले काठमाडौं नछाड्न रुलिङ गरे पनि थापा पोखरा पुगेका थिए । 

गठबन्धन भत्किँदै गरेको सूचना आफूहरूलाई भएको भन्दै थापाले सञ्चारमाध्यममा बोलेका थिए । त्यसपछि सूचना भएका नेता किन पार्टीको सम्पर्कमा नआएको भन्दै थापाको आलोचना भएको थियो । तर अहिलेको गठबन्धन भत्काउन भने थापाले अग्रसरता नै लिएका छन् । सभापति देउवाले थापालाई प्रधानमन्त्री प्रचण्डसँग वार्ता र संवाद गर्न समेत पठाएको चर्चा छ । पार्टीले विश्वास गरेको भए पनि रणनीतिक विषयमा यसरी बोल्दा नतिजा आफ्नो अनुकूल आउन मुस्किल पर्ने कांग्रेसका अर्का नेताको तर्क छ ।

‘अहिलेको गठबन्धनको आशंका र सकसले गर्दा सरकारलाई अप्ठ्यारो भएको पक्कै हो । राष्ट्रपति चुनावको तनावलाई लिएर सरकार तलमाथि पर्न पनि सक्ला,’ कांग्रेसका ती नेता भन्छन्, ‘सरकार ढाल्नै खोजेको हो भने पनि रणनीतिक विषयलाई एक्सपोज गर्दा अर्को पक्षले जोखिमबाट कसरी उम्किने भन्ने रणनीति बनाउन पाउँछ । रणनीतिक विषय हो भने महामन्त्रीज्यूले १० फागुनमा सरकार ढल्छ भनेर बोल्नुहुन्थेन ।’

यसरी बोल्दा गगनकै इमेजमा क्षति पुगेको उनको विश्लेषण छ ।

salt training

कमेन्ट गर्नुहोस्