
भेरी बबई बहुउद्देश्यीय आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनीयरिङ (एमजीसीई) सँग सम्झौता रद्द गरेको छ ।
कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको जनाएको छ ।
अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो । कम्पनीलाई अमेरिकी कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सूचीमा राखेको थियो ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) लेखनाथ सुवेदीले परामर्शदाताको रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका शर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको बताए । ‘कम्पनीले काम नगर्दा आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब फास्ट ट्रयाकबाट नयाँ परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको छ ।’
सीडीई सुवेदीका अनुसार इरानी कम्पनीले नेपालका बैंकमा खाता खोल्न र काम गरेको रुपैयाँको भुक्तानी दाबी गर्न सकेको छैन । ‘बिल रकम समेत दाबी गर्न आएको छैन, सम्झौता रद्द गर्नुपूर्व काम गर्न नसक्नुको स्पष्ट जवाफ पनि दिएन,’ उनले भने ।
अमेरिकी प्रतिबन्ध सूचीमा परेपछि कम्पनीले बैंक खाताबाट साढे ३ करोड रकम निकाल्न समेत पाएको छैन । जसले गर्दा कम्पनीले नेपालका कुनै पनि बैंकमा खाता खोल्न पाएको छैन भने नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट रकम निकाल्न नपाउँदा कर्मचारीहरूले १ वर्षदेखि पारिश्रमिक पाएका छैनन् । एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर काम गरिरहेको थियो ।
आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि २०७६ असोज ६ गते आयोजनाले इरानी कम्पनी एमजीसीई तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । कम्पनीले १ वर्षदेखि परामर्शदाताको रूपमा काम गर्न पूर्ण रूपमा छाडिसकेको थियो । आयोजनाले माघ ९ गतेदेखि लागू हुने गरी कम्पनीसँग सम्झौता करार रद्द गरेको हो ।
आयोजनाले हाल दोस्रो चरणका सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकल सम्बन्धी कार्यहरू गरिरहेको छ । सीडीई सुवेदीका अनुसार यसका लागि तत्काल परामर्शदाताको खोजी भइरहेको छ । महालेखा परीक्षकको कार्यालय रायबमोजिम फास्ट ट्रयाकबाट नयाँ परामर्शदाता नियुक्ति गर्न सिँचाइ विभागसँग समन्वय भइरहेको उनले बताए ।

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ६० प्रतिशत प्रगति हासिल गरेको छ । हाल बाँध (ड्याम) र विद्युत् गृह (पावर हाउस) निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी कामहरू भइरहेका छन् । पहिलो चरणमा सुरुङ निर्माण कार्य भएको थियो ।
चिनियाँ कम्पनी चाइना इन्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा १ वर्ष अगावै टनेल बोरिङ मशिन (टीबीएम) का सहायताले सुरुङ निर्माण गरिसकेको थियो ।
दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ तर आयोजनाका यी काम सम्पन्न गर्न थप २ वर्ष लाग्ने देखिन्छ ।
दोस्रो चरणका काम सम्पन्न गर्न ११ अर्ब ५२ करोड ६१ लाख बजेट प्रस्ताव गरिएको छ ।
आयोजनाले हाइड्रो मेकानिकल अन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका कामहरू शुरू गरेको जनाएको छ ।
आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ रकम भइसकेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेज सहितको ब्यारेज निर्माण गर्न लागिएको हो । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किलोमिटर २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–५ हात्तीखोलामा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।
संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।