२१ असार २०८३, आइतबार

‘छक्का पञ्जा ४’को सवा ३ मिनेटको ट्रेलरमा के छ ?

‘छक्का पञ्जा ४’को सवा ३ मिनेटको ट्रेलरमा के छ ?

दीपकराज गिरी र दीपाश्री निरौलाले केही समय अघि मात्रै फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरेका छन् । 

यस वर्षको प्रतीक्षित नेपाली फिल्मका रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर उनीहरुले दिउँसो ४ बजेको शुभसाइत पारेर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक ट्रेलर तीन मिनेट २१ सेकेण्ड अवधिको छ । ट्रेलरमा समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गरिएको छ । 

दीपकराज गिरी (राजा) पात्र सुधार गृहबाट निस्किएपछि उसको राजनीतिक यात्रा र त्यसक्रममा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

राजा पात्रलाई गुण्डागर्दी गर्नेदेखि नेतासम्मको भूमिकामा प्रस्तुत गरिएको छ  । 

ट्रेलरको सुरुवातमै देश र राजनीतिप्रति युवाहरूले राख्ने धारणा समावेश गरिएको छ । 

दीपकराजको बुवाको भूमिकामा अभिनेता नीर शाह छन् । दीपकराज अर्थात राजाको श्रीमतीको भूमिकामा दीपाश्री निरौला छिन् । अभिनेत्री बेनिशा हमालले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् ।दीपकराज र बेनिशाबीचको रोमान्सको दृश्यलाई समेत  ट्रेलरमा समावेश गरिएको छ । 

केदार घिमिरे मास्टरको भूमिका निर्वाह गरेका छन् ।

पात्रहरुको पञ्चलाइनलाई ट्रेलरमा विशेष प्राथमिकता दिइएको छ । 

केदारको चरित्रको संवाद समावेश गरिएको छ, – मास्टर हुँ डस्टर बोक्छु, पार्टीको झण्डा होइन ।

बुद्धि तामाङको चरित्रले भनेको छ,– झमतावाला युवाहरू सबै खाडीमा, बुढाहरू चाहिँ झण्डावाल गाडीमा । यस्ता संवादहरूले राजनीतिक परिवेशलाई कटाक्ष गरेको छ । 

ट्रेलरको अन्त्यमा राजा चरित्रमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ ।

राजाको संवाद छ, – बुवा हजुरले सधैं ठूलो मान्छे बन्न सिकाइस्यो, यो ठूलो मान्छे बन्ने चक्करमा राम्रो मान्छे बन्न भुलेछु ।

ट्रेलरको अन्तिमतिर दीपाश्री निरौलालाई नेता शैलीमा देखाइएको छ । 

मलिना जोशी, रमेश बुढाथोकी, निर्मल शर्मा, राज आचार्य, अनुराग कुँवर लगायतलाई पनि ट्रेलरमा देखाइएको छ ।

हेमराज बीसी निर्देशित फिल्म फागुन १९ गतेबाट प्रदर्शनको तयारीमा छ ।

आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा दिपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

निर्मल शर्मा र केदार प्रसाद घिमिरे फिल्मको कार्यकारी निर्माता हुन् ।

दीपकराज स्वयंको कथा एवं लेखन रहेको फिल्म यतिबेला ‘दर्शन सलाम’ गीतका कारण पनि चर्चामा छ ।

हेर्नुहोस् ट्रेलर :

salt training

कमेन्ट गर्नुहोस्