
प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले पछिल्लो समय युवा विद्यार्थी रोजगारी खोजीमा विदेश पलायन हुनु मुलुकका लागि विडम्बना भएको बताउँदै विद्यार्थीको ज्ञान र सीप मुलुकमै प्रयोग गर्न माग गरेका छन् ।
पञ्चालीस्थित सगरमाथा सेकेन्डरी स्कूलको २६ औं अभिभावक दिवस कार्यक्रममा शनिबार प्रदेश प्रमुख खापुङले सो कुरा बताए । आफु पहिले शिक्षण पेशामा लामो समय आवद्ध भएको स्मरण गर्दै उनले गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे । शिक्षको गुणस्तरप्रति अभिभावक तथा विद्यार्थी निराश बन्दैगएको उनले चर्चा गरे ।
बाल्मिकी स्कुलका सविता पराजुली, डीएभी स्कुलका रमेश मिश्र, ग्रेडेड स्कुलका प्रेमलाल सुवाल, लिलिपुट स्कुलका चिरञ्जिवी तिमल्सिना, खाद्य विज्ञ तारा निरौला, रामसीता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा अभिभावक सुमकलाल रोयले सो अवसरमा विद्यालयको गुणस्तरीय शिक्षाका लागि शुभकामना प्रदान गरे ।
सो अवसरमा विद्यार्थीले आफ्नो नृत्य तथा कला प्रस्तुत गरेका थिए । लामो समय विद्यालयमा शिक्षण पेशमा आवद्ध भई गुणस्तरीय शिक्षामा गरेको योगदानका लागि केही शिक्षकलाई सम्मान तथा विदाई पनि गरिएको थियो ।
वि.सं. २०५३ सालमा स्थापित यस शैक्षिक संस्था २०६३, ०६४ र ०६६ मा पूर्वाञ्चलकै उत्कृष्ट तथा २०६५ मा देशभरकै उत्कृष्ट विद्यालय घोषणा भई शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको स्कुलका प्राचार्य त्रिलोचन गौतमले जानकारी दिए ।