
शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’ले आक्रामक ओपनिङ गर्ने देखिएको छ । चलचित्रको शुक्रवार बिहानी शो ५० देखि ७० प्रतिशत अकुपेन्सी देखिएको थियो भने दिउँसोदेखि चलचित्रले पिकअप लिएको थियो । अपरान्ह, बेलुका र रात्रि धेरै शोहरु शतप्रतिशत अकुपेन्सीमा संचालन भएका थिए ।
आज शनिवार चलचित्रले मल्टिप्लेक्स हलहरुमा शुक्रवारभन्दा धेरै शो पाएको छ भने चलचित्रले धेरै शोमा हाउसफुलको व्यापार गर्ने देखिएको छ ।
शनिवार धेरै शोहरु बिहानैदेखि फिलिङ फाष्टमा छन् ।
कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न राजधानीका हलहलमा पुगिरहेका छन् । शुक्रवार पनि कलाकारहरू थुप्रै हलमा पुगेका थिए ।
अघिल्ला श्रृङखलामा वैदेशिक रोजगारीले निम्त्याएको समस्या, युवापुस्ताको विदेश मोहदेखि सरकारी विद्यालयभित्र हुने बेथितिको कथा उठाएका दीपक–दीपाले यसपटक शतप्रतिशत राजनीतिक कथामा चलचित्र बनाएका हुन् । हेमराज बिसीले चलचित्रलाई निर्देशन गरेका हुन् ।
‘छड्के २’लाई ओपनिङमा सकस
शुक्रवारदेखि प्रदर्शनमा आएको अनमोल केसी स्टारर ग्याङस्टर चलचित्र ‘छड्के २’लाई भने ओपनिङमा सकस देखिएको छ ।
शुक्रवार चलचित्रको अकुपेन्सी निकै न्यून रह्यो । शनिवार पनि चलचित्रको बुकिङ राम्रो देखिएको छैन् ।