०४ साउन २०८३, सोमबार

कोशीमा १२ हजारभन्दा बढी परिवार हिमताल विस्फोटको जोखिममा

असार २८, २०८३
विराटनगर
कोशीमा १२ हजारभन्दा बढी परिवार हिमताल विस्फोटको जोखिममा

कोशी प्रदेश सरकारले हालै सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना २०८३’ले प्रदेशको मनसुनजन्य विपद्को गम्भीर र भयावह चित्र प्रस्तुत गरेको छ । 

एक दशकको तथ्यांक र पछिल्लो वर्षको अवस्थालाई विश्लेषण गर्दा कोशी प्रदेश बाढी, पहिरो, चट्याङ र हिमताल विस्फोट जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देखिएको छ । 

सरकारी प्रतिवेदन अनुसार २०७३ देखि २०८२ सम्मको १० वर्षको अवधिमा मनसुनजन्य विपद्का कारण प्रदेशभर ५४३ जनाले ज्यान गुमाइसकेका छन् भने ८६ जना अझै बेपत्ता छन् ।  

यस अवधिमा ८६२ जना घाइते भएका र २२ हजार ३६४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको तथ्यांक छ । भौतिक क्षतितर्फ १० हजार ८७० घरमा आंशिक क्षति पुगेको छ भने २ हजार ५५९ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । 

विशेषगरी पहिरोका कारण १० वर्षमा २०१ जनाको मृत्यु भएको छ भने बाढीले १३३ जना र चट्याङले २०३ जनाको ज्यान लिएको छ । यस्तै, भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक कोशी प्रदेशमा हिमताल विस्फोटको जोखिम झनै डरलाग्दो देखिएको छ । इसिमोडले गरेको अध्ययनलाई उद्धृत गर्दै प्रतिवेदनमा जनाइए अनुसार अरुण नदी जलाधार क्षेत्रमा नेपालतर्फ ४ र तिब्बततर्फ १३ गरी १७ वटा हिमताल विस्फोटको उच्च जोखिममा छन् ।  

त्यसैगरी, दुधकोशी र सुनकोशी जलाधार क्षेत्रमा २१ वटा र तमोरको जलाधार क्षेत्रमा ४ वटा गरी जम्मा ४२ वटा हिमताल कुनै पनि समय विस्फोट हुन सक्ने खतरामा छन् ।  विश्वव्यापी उष्णीकरणका कारण हिमताल फुट्ने जोखिम बढ्दै गएको र यसले जेठदेखि असोज महिनासम्म तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउन सक्ने आकलन गरिएको छ ।

हिमताल विस्फोट भएको खण्डमा कोशी प्रदेशका १० जिल्लाका जम्मा १२ हजार ७०६ घर परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । जिल्लागत विवरण हेर्दा सुनसरीका ४ हजार १११ घर, उदयपुरका ३ हजार ५६२ घर, ओखलढुङ्गाका १ हजार ९४१ घर र ताप्लेजुङका १ हजार १३१ घर उच्च जोखिममा छन् ।  

null

यस्तै, सोलुखुम्बुका ८८३ घर, खोटाङका ४३० घर, भोजपुरका २७५ घर, संखुवासभाका १५५ घर, पाँचथरका १३८ घर र धनकुटाका ८० घर परिवार पनि सम्भावित बाढीको चपेटामा पर्न सक्ने देखिएको छ । यो जोखिमले प्रदेशको ठूलो जनसंख्या र पूर्वाधारलाई खतरामा पारेको छ ।

पछिल्लो समयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म मात्रै प्रदेशमा ७५ जनाको मृत्यु भइसकेको छ । यस वर्ष विपद्का कारण २१४ जना घाइते भएका छन् भने १ हजार ५४३ परिवार प्रभावित भएका छन् । 

यो वर्ष मात्रै विपद्का कारण ७८ करोड ९२ लाख ३४ हजार ९५९ रूपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । जिल्लागत रूपमा यस वर्ष इलाममा सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ भने झापामा ८, मोरङ, सुनसरी, संखुवासभा र पाँचथरमा ३–३ जनाको मृत्यु भएको तथ्यांक छ । 

यस्तै, ताप्लेजुङ र खोटाङमा २–२ जना तथा भोजपुर, ओखलढुङ्गा र उदयपुरमा १–१ जनाको मृत्यु भएको छ । झापा जिल्लामा मात्रै सबैभन्दा बढी ५ हजार ७३२ घरमा क्षति पुगेको र १० करोड ३३ लाख ८९ हजार १५९ रूपैयाँको क्षति भएको देखिन्छ ।

विपद्को अर्को पाटोको रूपमा वन्यजन्तु आतंकलाई पनि लिइएको छ ।  १० वर्षमा कोशी प्रदेशमा जनावरको आक्रमणका ८९७ वटा घटना भएका छन्, जसमा ७३ जनाको मृत्यु र २८८ जना घाइते भएका छन् । यसबाट १५ हजार २१ परिवार प्रभावित भएका छन् भने ५ करोड ५९ लाख १० हजार ८५० रूपैयाँको प्रत्यक्ष आर्थिक क्षति भएको छ । साथै, सर्पदंशका कारण पनि प्रदेशमा वर्षेनी मानवीय क्षति हुने गरेको छ, जसलाई न्यूनीकरण गर्नु सरकारका लागि ठूलो चुनौती बनेको छ ।

प्रदेश सरकारले विपद् बढ्नुका पछाडि जलवायु परिवर्तन, हरितगृह ग्यास उत्सर्जन, अव्यवस्थित मानव वस्ती विकास र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलाई मुख्य कारण मानेको छ । पहाडी भेगमा सडक निर्माण गर्दा अपनाइने कमजोर प्रविधि र नदीहरूको सतह उकासिँदै जानुले पनि बाढी र डुबानको समस्या बढाएको प्रतिवेदनमा उल्लेख छ ।

यस्ता जटिल चुनौतीहरूको सामना गर्न कोशी प्रदेश सरकारले यो कार्ययोजनामार्फत पूर्वतयारी र प्रतिकार्यका रणनीति तय गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्