
कोशी प्रदेश सरकारले हालै सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना २०८३’ले प्रदेशको मनसुनजन्य विपद्को गम्भीर र भयावह चित्र प्रस्तुत गरेको छ ।
एक दशकको तथ्यांक र पछिल्लो वर्षको अवस्थालाई विश्लेषण गर्दा कोशी प्रदेश बाढी, पहिरो, चट्याङ र हिमताल विस्फोट जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देखिएको छ ।
सरकारी प्रतिवेदन अनुसार २०७३ देखि २०८२ सम्मको १० वर्षको अवधिमा मनसुनजन्य विपद्का कारण प्रदेशभर ५४३ जनाले ज्यान गुमाइसकेका छन् भने ८६ जना अझै बेपत्ता छन् ।
यस अवधिमा ८६२ जना घाइते भएका र २२ हजार ३६४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको तथ्यांक छ । भौतिक क्षतितर्फ १० हजार ८७० घरमा आंशिक क्षति पुगेको छ भने २ हजार ५५९ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
विशेषगरी पहिरोका कारण १० वर्षमा २०१ जनाको मृत्यु भएको छ भने बाढीले १३३ जना र चट्याङले २०३ जनाको ज्यान लिएको छ । यस्तै, भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक कोशी प्रदेशमा हिमताल विस्फोटको जोखिम झनै डरलाग्दो देखिएको छ । इसिमोडले गरेको अध्ययनलाई उद्धृत गर्दै प्रतिवेदनमा जनाइए अनुसार अरुण नदी जलाधार क्षेत्रमा नेपालतर्फ ४ र तिब्बततर्फ १३ गरी १७ वटा हिमताल विस्फोटको उच्च जोखिममा छन् ।
त्यसैगरी, दुधकोशी र सुनकोशी जलाधार क्षेत्रमा २१ वटा र तमोरको जलाधार क्षेत्रमा ४ वटा गरी जम्मा ४२ वटा हिमताल कुनै पनि समय विस्फोट हुन सक्ने खतरामा छन् । विश्वव्यापी उष्णीकरणका कारण हिमताल फुट्ने जोखिम बढ्दै गएको र यसले जेठदेखि असोज महिनासम्म तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउन सक्ने आकलन गरिएको छ ।
हिमताल विस्फोट भएको खण्डमा कोशी प्रदेशका १० जिल्लाका जम्मा १२ हजार ७०६ घर परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । जिल्लागत विवरण हेर्दा सुनसरीका ४ हजार १११ घर, उदयपुरका ३ हजार ५६२ घर, ओखलढुङ्गाका १ हजार ९४१ घर र ताप्लेजुङका १ हजार १३१ घर उच्च जोखिममा छन् ।

यस्तै, सोलुखुम्बुका ८८३ घर, खोटाङका ४३० घर, भोजपुरका २७५ घर, संखुवासभाका १५५ घर, पाँचथरका १३८ घर र धनकुटाका ८० घर परिवार पनि सम्भावित बाढीको चपेटामा पर्न सक्ने देखिएको छ । यो जोखिमले प्रदेशको ठूलो जनसंख्या र पूर्वाधारलाई खतरामा पारेको छ ।
पछिल्लो समयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म मात्रै प्रदेशमा ७५ जनाको मृत्यु भइसकेको छ । यस वर्ष विपद्का कारण २१४ जना घाइते भएका छन् भने १ हजार ५४३ परिवार प्रभावित भएका छन् ।
यो वर्ष मात्रै विपद्का कारण ७८ करोड ९२ लाख ३४ हजार ९५९ रूपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । जिल्लागत रूपमा यस वर्ष इलाममा सबैभन्दा बढी २१ जनाको मृत्यु भएको छ भने झापामा ८, मोरङ, सुनसरी, संखुवासभा र पाँचथरमा ३–३ जनाको मृत्यु भएको तथ्यांक छ ।
यस्तै, ताप्लेजुङ र खोटाङमा २–२ जना तथा भोजपुर, ओखलढुङ्गा र उदयपुरमा १–१ जनाको मृत्यु भएको छ । झापा जिल्लामा मात्रै सबैभन्दा बढी ५ हजार ७३२ घरमा क्षति पुगेको र १० करोड ३३ लाख ८९ हजार १५९ रूपैयाँको क्षति भएको देखिन्छ ।
विपद्को अर्को पाटोको रूपमा वन्यजन्तु आतंकलाई पनि लिइएको छ । १० वर्षमा कोशी प्रदेशमा जनावरको आक्रमणका ८९७ वटा घटना भएका छन्, जसमा ७३ जनाको मृत्यु र २८८ जना घाइते भएका छन् । यसबाट १५ हजार २१ परिवार प्रभावित भएका छन् भने ५ करोड ५९ लाख १० हजार ८५० रूपैयाँको प्रत्यक्ष आर्थिक क्षति भएको छ । साथै, सर्पदंशका कारण पनि प्रदेशमा वर्षेनी मानवीय क्षति हुने गरेको छ, जसलाई न्यूनीकरण गर्नु सरकारका लागि ठूलो चुनौती बनेको छ ।
प्रदेश सरकारले विपद् बढ्नुका पछाडि जलवायु परिवर्तन, हरितगृह ग्यास उत्सर्जन, अव्यवस्थित मानव वस्ती विकास र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलाई मुख्य कारण मानेको छ । पहाडी भेगमा सडक निर्माण गर्दा अपनाइने कमजोर प्रविधि र नदीहरूको सतह उकासिँदै जानुले पनि बाढी र डुबानको समस्या बढाएको प्रतिवेदनमा उल्लेख छ ।
यस्ता जटिल चुनौतीहरूको सामना गर्न कोशी प्रदेश सरकारले यो कार्ययोजनामार्फत पूर्वतयारी र प्रतिकार्यका रणनीति तय गरेको जनाएको छ ।