
नयाँ वर्षको अवसर पारेर आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिहे पास’को गीत सार्वजनिक गरिएको छ ।
शुक्रवार सार्वजनिक ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ फिचर्ड छन् ।
अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर रहेको गीतको शब्द डिपी खनालले कोरेका हुन् भने गीतमा प्रवेश मल्लिकको संगीत छ ।
रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ ।
प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।
केही दिनअघि सार्वजनिक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ । केही दिनमै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी छ ।
पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।
मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।
रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरूप पस्कन लागिएको दावी निर्देशक प्रवेशको छ ।
हेर्नुहोस् गीत–