
युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका अभिनेता मानिन्छन् अनमोल केसी । उनका यसअघिका धेरैजसो फिल्मले राम्रो व्यापार गरेका थिए ।
इनिसियल रूपमा राम्रो व्यापार गर्न उनका फिल्म अगाडि देखिन्थे तर पछिल्लो फिल्म ‘छड्के २’को व्यापार भने अकल्पनीय कमजोर रह्यो ।
प्रदर्शनको शुरूआती दिनबाटै दर्शकको खडेरी भोगेको फिल्म छैटौं दिनमै अधिकांश मल्टिप्लेक्स हलहरूबाट उत्रियो । वितरकका अनुसार त्यतिञ्जेल फिल्मले हलमा ३० लाख हाराहारीको मात्रै कलेक्सन गर्यो । जुन कलेक्सन अभिनेता केसीको फिल्मी करिअरकै सबैभन्दा कमजोर हो ।
‘छड्के २’सँग अनमोलले अभिनय गरेका फिल्मको संख्या ९ पुग्छ । यद्यपि यतिको कमजोर व्यापार उनका कुनै फिल्मले गरेका थिएनन् । अन्य खासै नचलेका कलाकारको फिल्मले गर्ने व्यापारभन्दा पनि ‘छड्के २’को व्यापार कमजोर मानिएको छ ।
यसर्थ समग्र फिल्महरूसँग तुलना गर्दा यो फिल्मलाई ‘सुपरफ्लप’ भएको मान्न सकिन्छ ।
अनमोल केसीका कारण पनि यो फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा थियो । व्यावसायिक आशा राखिएको फिल्म आखिर किन ‘सुपरफ्लप’ सावित भयो ? यसका केही कारणहरू केलाउने प्रयास गरिएको छ ।
टिजर, ट्रेलर र गीतबाटै कौतुहलता जगाउन नसक्नु
निर्माण घोषणाबाटै फिल्मको एक किसिमको चर्चा शुरू भएको थियो । यद्यपि पोस्टर, टिजर, टे«लर र गीतबाट फिल्मले दर्शकमाझ एक किसिमको कौतुहलता जगाउनुपर्ने हो, जुन जगाउन सकेको थिएन ।
फरक लुक्समा अनमोललाई नसुहाएको प्रतिक्रियाहरू दर्शकबाट देख्न सकिन्थ्यो । र्यापर भिटेनको गीत पनि चर्चाकै खातिर मात्र फिल्ममा राखिएको आलोचना उहिल्यै गरिएको थियो । प्रचार सामग्रीको प्रभाव फिल्मको व्यापारमा देखियो ।
विना प्रचारप्रसार प्रदर्शनमा आउनु
‘छड्के २’को प्रचारप्रसारमा निर्माण टीमले त्यति ध्यान दिएको थिएन । अरु फिल्म आउँदा मिडियामा दौडधुप गर्ने अनमोलको अन्तर्वार्ता यसपटक कहीँ आएन । निर्माता, निर्देशकदेखि कलाकारहरूले फिल्म रिलिजको दिनसम्म मिडिया पब्लिसिटीमा ध्यान दिएनन् । सो कारण ‘छड्के’को सिरिजका रूपमा आएको यस फिल्मबारे मासमा जानकारी पुग्न सकेन । जसको असर पनि फिल्मको व्यापारमा परेको आकलन गर्न सकिन्छ ।

फिल्म छनोटमा चुक्नु
चकलेटी भूमिकामा रुचाइएका अभिनेता अनमोल केसीले पहिलोपटक ग्याङस्टर फिल्ममा अभिनय गरे । प्रेमकथाका फिल्ममा मात्र अभिनय गरेर हुँदैन भनेर अलग जनरामा पनि आफूलाई स्थापित गर्ने प्रयासलाई सराहना गर्नुपर्ने हुन्छ । यद्यपि उनले त्यसका लागि सही टीम छनोट गर्न सकेनन् । जसका कारण अलग जनरामा अनमोलले गरेको कामलाई हेर्न हलसम्म दर्शक आएनन् । अभिनेता अनमोलले यसपटक आफू चुकेको स्वीकारिसकेका छन् ।
अनमोलको अभिनयमा नआएको निखारता
अनमोलको चकलेटी लुक्सका फ्यानहरू अहिले पनि धेरै छन् । म्युजिक भिडियो कहिल्यै नखेल्ने, मिडियामा जथाभावी नआउने र आउँदा पनि सन्तुलित हिसाबले बोल्ने उनको स्वभावका कारण पनि उनको फ्यान फलोइङ राम्रो छ ।
यद्यपि उनका फिल्मले राम्रो व्यापार गरे पनि उनको अभिनयको भने सधैं नै आलोचना हुँदै आएको छ ।
उनले आफ्नो अभिनयलाई निखार्न नसकेको गुनासो दर्शक एवं फिल्मकर्मीबाट सधैं आउने कुरा हो तर उनले अभिनयलाई सुधार्ने कोसिस कहिल्यै गरेनन् ।
हरेक फिल्ममा त्यो कमजोरी पाउँदा दर्शकहरू निराश हुँदै आएका थिए र यसमा त्यो असर देखियो ।
कमजोर कथा र मेकिङ
फिल्म असफल हुनुको मुख्य कारण भने यसको कमजोर कथा, पटकथा र मेकिङलाई मान्न सकिन्छ । कथा र मेकिङ कमजोर भएपछि फिल्म हेरेका दर्शकहरू निराश हुन्छन् । जसका कारण फिल्मको ‘वर्ड अफ माउथ’ नकारात्मक आउँछ । फिल्म हेर्ने मन गरेका दर्शकहरू पनि नकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलसम्म जाँदैनन् ।
‘छड्के २’को सन्दर्भमा यही भयो । हेरेका दर्शक निराश भएर फर्किए भने उनीहरूले अरुलाई समेत फिल्म हेर्न प्रोत्साहित गरेनन् । जसका कारण फिल्मले पिकअप लिनै सकेन ।
निर्देशकको कमजोरी
फिल्मको क्याप्टेन भनेको निर्देशक हो । निर्देशकले जे भन्यो, जसरी भन्यो त्यसरी कलाकारहरूले काम गर्ने हो । तसर्थ फिल्म असफल हुनुमा निर्देशक पनि मुख्य दोषी देखिन्छन् । लेखक समेत रहेका निगम श्रेष्ठले ‘छड्के–२’लाई निर्देशन गरेका हुन् ।
अर्को ब्राण्ड फिल्मसँग जुध्नु
‘छड्के २’ ब्राण्ड फिल्म ‘छक्का पञ्जा ४’सँग एकैदिनबाट प्रदर्शनमा आएको हो । अर्को ब्राण्ड फिल्मसँग जुध्नु पनि ‘छड्के २’लाई केही अर्थमा घातक देखियो । एकैदिन प्रदर्शनमा आउँदा फिल्मले कम शो पायो । दर्शकहरूको पहिलो रोजाइमा पनि यो फिल्म नपरी ‘छक्का पञ्जा ४’ पर्यो ।
ग्याङस्टर फिल्ममा दर्शकको रुचि नै कम
‘छड्के २’ले कमजोर व्यापार गर्नुको एउटा कारण ग्याङस्टर फिल्ममा दर्शकको रुचि कम हुनु पनि हो । यसवर्ष सफल भएका फिल्महरू नियाल्दा पनि प्रेमकथा, कमेडी र पारिवारिक फिल्महरू सफल भएको देखिन्छ । यसको अर्थ अलग जनराका फिल्म बन्नु हुँदैन भन्ने चाहिँ होइन ।
एउटा सन्देश – स्टारडम होइन, स्क्रिप्ट बिक्छ
‘छड्के २’ले समग्र फिल्मकर्मीमा एउटा सन्देश दिनुका साथै सतर्क भने बनाएको छ । त्यो के भने स्टारडम भएको अभिनेता राख्दैमा फिल्म चल्दैन भन्ने ‘छड्के २’ले दिएको सन्देश हो । यसअघि अभिनेता र उसको स्टारडम हेरेर लगानी गर्नेहरूलाई यस फिल्मको असफलताले त्यसरी लगानी गर्नु हुँदैन भनेर सतर्क बनाएको छ ।