
बलिउड अभिनेता सलमान खानलाई एक ग्याङस्टारले ज्यान मार्ने धम्की दिएका छन्।
एक टीभी च्यानलसँगको अन्तर्वार्तामा लरेन्स बिश्नोई नाम गरेका ग्याङस्टारले सलमानलाई फेरि पनि धम्की दिएका हुन्।
सलमानले समाजलाई कमजोर बनाएको उनको आरोप छ। 'हाम्रो समाजमा रूख, बोटबिरुवा र जनावरबारे धेरैमा विश्वास छ। सलमानले हाम्रो समाजको अपमान गरेका छन् ।'
राजस्थानको बिकानेरमा आफूहरूको समाजको एउटा मन्दिर भएको भन्दै सलमानले त्यहाँ गएर माफी माग्नुपर्ने उनले माग गरेका छन्। यदि सलमानले त्यसो नगरे आफूहरूले आफ्नै तरिकाले हिसाब लिने उनले बताएका छन्।
यसअघि सन् २०२२ मा पनि सलमान खानलाई पत्रमार्फत धम्की आएको थियो। उक्त चिठी सलमान खानका पिता सलिम खानले पाएका थिए। जसमा सलमान खानको हालत सिद्धुमुसेवालाको जस्तो हुनेछ लेखिएको थियो । २०१८ मा पहिलो पटक लरेन्स विश्नोईले सलमान खानलाई मार्ने धम्की दिएका थिए। त्यसयता सलमान खान यो गिरोहको निशानामा छन् ।
सलमान सन् १९९८ कालो हरिण शिकार प्रकरणमा फसेका थिए। लरेन्सले धम्की दिनुको कारण यसैलाई मानिएको छ।