
छैटौँ संस्करणको ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
६ गते सोमवारसम्म चल्ने महोत्सवको भोलि दिउँसो ३ बजे सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
निफका अध्यक्ष केपी पाठकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संसारभरका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट वञ्चित नहुन कला अनुरागीहरुलाई आग्रह गरे ।
महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट गरिएको छ । ति प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित अत्याधुनिक हलहरुमा हुनेछ ।
काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, ललितपुर पुल्चोकको लविङ मल र भक्तपुर राधेराधेस्थित भाटभटेनीमा रहेको हलमा चलचित्रको प्रदर्शनी हुनेछ ।
दैनिक ४ शो चलचित्र प्रदर्शन हुने बताउँदै प्रति शो १ सय ५० रूपैयाँ टिकट शुल्क राखिएको अध्यक्ष पाठकले जानकारी दिए । ४ वटै शो मा फिल्म हेर्न चाहनेका लागि भने ५ सय रुपैयाँ शुल्क तोकिएको उनले बताए । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।
चलचित्र प्रदर्शनको सेड्यूल सार्वजनिक गरिसकिएको छ । ‘खल्ती एप’ मार्फट टिकट बुकिङ गर्न सकिनेछ ।
महोत्सवमा प्रतियोगी चलचित्रमध्येबाट विभिन्न ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न शीर्षकमा सेसन चलाउने कार्यक्रम समेत तय छ ।
निफका प्रमुख सल्लाहकार अभिनेता एवं निर्देशक नीर शाहले महोत्सवमा देखाइने चलचित्र विश्वका चलचित्रबारे अध्ययन गर्ने ठूलो पाठ्यक्रम सरह भएको भन्दै धेरै भन्दा धेरै सहभागी भएर लाभ उठाउनेमा विश्वस्त रहेको बताए ।