
नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् । उनको अनुसार एसईईमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३ दशमलव ६ देखि ४ भन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
एसईईमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३ दशमलव ६ देखि ४ भन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिए । उनका अनुसार यो व्यवस्था चालू शैक्षिकसत्रदेखि शुरू गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानूनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
‘अहिले विद्यार्थी एसईईको तयारीमा लागिरहेकाले उनीहरूको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो,’ शिक्षा शाखा प्रमुख रावतले भने, ‘यसअघिका परीक्षा र हालै भएको १० कक्षाको आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अंक ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको निर्णयले थप ऊर्जा मिल्नेछ ।’
विभिन्न ६ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको संख्या ७ रहेको छ । ती विद्यालयमा चालू शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीको संख्या ३०० हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।