
नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।
केही महिनायता नदेखिएको कोरोना संक्रमण बिहीवार एकैदिन १७ जनामा देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार १ हजार ४५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ ।
चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते ९०९ र चैत ८ गते १ हजार ३८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।
सक्रिय संक्रमित पनि बढेका छन् । बिहीवार ३० जना सक्रिय संक्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।
‘भारतमा संक्रमण बढिरहेको छ । भारतबाट संक्रमित नेपाल आइरहेका छन्,’ उनले भने, ‘सीमानाकाबाट ७ संक्रमित नेपाल आएका छन् ।’ उनले खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन समेत भइरहेको छ ।