२२ असार २०८३, सोमबार

धार्मिक महत्वको पर्व गौरा, जसलाई राज्यले चिन्न सकेको छैन

कात्तिक २०, २०७४
धार्मिक महत्वको पर्व गौरा, जसलाई राज्यले चिन्न सकेको छैन

चाडपर्वहरु प्रत्यक्ष जनजीवनसँग सम्बन्धित हुन्छन् । असहजतालाई चिर्दै मानिसको मनमा प्रफुल्लता उत्पन्न गराउन चाडपर्वको महत्वपूर्ण भूमिका हुन्छ । दैनिकजसो कामको चटारोमा रहने मानव जीवनलाई चाडपर्वको रमझमले जीवन जिउनुको अर्थ महसुस गराउने गर्छ । सँगसँगै चाडपर्वले धार्मिक र सांस्कृतिक महत्व समेत बोेकेको हुन्छ । किसानको खेतवारीमा रोपाइको चटारो सकिएलगत्तै सुरु हुने गौरा (गौरा) धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व हो । गौरा पर्वले रोपाइमा जोतिएका किसानहरुमा रमाइलो वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ । गौरामा बिरुडा, दुबधागो र देउडाको विशेष महत्व रहेको छ ।

पश्चिम नेपालका जिल्लाहरुमा गौरा पर्व अधिक लोकप्रिय छ । मध्पश्चिमका पहाडी र सुदूरपश्चिमका जिल्लाहरुमा शान्ति र सद्भावको कामना गर्दै मीठामीठा खानेकुरा र नयाँ लुगा लगाएर हर्षाेल्लासर्पूवक गौरा पर्व मनाइँदैछ । बिरुडा पञ्चमीदेखि पूर्णिमासम्म गौरा पर्व मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरुले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् ५ थरीका गेडागुडी भिजाउने गर्छन् । गहुँ, केराउ, गहत, मास र गुरोस मिसाएर तामाका भाडामा भिजाउँछन्, यी ५ अन्नलाई ‘बिरुडा’ भनिन्छ । नजिकका धारा, नाउला तथा पानीका पवित्र मूलहरुमा गएर फाग गाउँदै दोस्रो दिन बिरुडा धुने परम्परा छ । गौरा पर्वमा ब्रतालु तथा श्रद्धालु महिलाहरुद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजार्अचनामा बिरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गरिन्छ । तेस्रो दिन महिलाहरुले सामुहिक रुपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौरादेवी (पार्वती)को प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । त्यस अवसरमा दुबधागो चढाइन्छ ।

सप्तमीका दिन बेलुकीदेखि नै ब्रत बसेका महिला गौरापूजन गर्ने स्थलमा गई ‘पुरुषले लगाउने जनै’जस्तै धागो गौरालाई चढाएर नयाँ धागो धारण गर्ने गर्छन् । त्यस्तो धागोलाई दुबधागो भन्ने गरिन्छ । गौरा अष्टमीका दिन ब्रत बसेर महिलाहरु बिहानैदेखि गौरा खलो ( गौरा मनाउने स्थल)मा पूजाआजा गर्छन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव (महेश्वर) र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विर्सजन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्छन् । अनुकूल तिथि हेरी विर्सजन गरिने गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउका साथै यस पर्वमा ब्रत बसी शिव र गौराको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरु मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरालाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किम्वदन्ती छ ।

महेश्वर र गौराबीच विवाह भएको प्रसंग समेत यस पर्वमा जोडिएको पाइन्छ । गौरा पूजन विवाहित माहिलाले मात्र पूजा गर्ने भएपनि पुरुष र अविवाहित महिला पनि पर्वमा सामेल हुन्छन् । शुक्ल पक्षमा उज्याली गौरा र कृष्ण पक्षमा अन्यारी गौरा मनाइन्छ । उज्याली गौरालाई नयां गोःरीया अर्थात् नयाँ दुलहीको लागि शुभ मानिन्छ । एकै वर्षमा अर्थात् विवाह भएकै वर्षमा ब्रत बसेमा तेमुडी हुने (जसलाई शुभ मानिँदैन) भएकाका वर्ष दिन पुगेपछि मात्र दुलहीले नयाँ गोःरीयाको रुपमा ब्रत बस्ने चलन छ ।

लेखक भट्ट


विशेष पूजार्अचनापछि गौरालाई चढाएका फलफूल ४ जना पुरुषले सफा कपडामा राखेर भीडतिर फाल्छन् । पहिले पूर्व फर्किएर आकाशतिर फाल्नुपर्छ । त्यसपछि क्रमशः सबै दिशातिर फालिन्छ । यसलाई स्थानीय भाषामा फल फट्काउने भनिन्छ । यसरी फालिएको फल पाउने भाग्यमानी हुने र उसले चिताएको पुग्ने जनविश्वास छ । त्यसपछि गौरामा चढाएका आ–आफ्ना दुबधागो निकाली घांटीमा बाँधेर लगाउने र पुरानोे धागो गौरामा नै चढाउने चलन छ । अन्त्यमा ब्रतालु महिलाले प्रसादका रुपमा पाँचबिरुडा पानीमा राखी नचपाई निल्छन् र ब्रत पूरा हुन्छ । त्यसपछि बिरुडालाई प्रसाद मानेर पति र आफन्तको टाउको पुजेर आर्शिवाद लिनेदिने गरिन्छ ।

यो पर्वको महत्व धार्मिक सँगसँगै सामाजिक सद्भाव कायम गराउने र देशविदेशमा रहेका दाजुभाई, आफन्त तथा इष्टकुटुम्बको मिलन हुने पर्वको रुपमा पनि विकसित हुँदै गएको छ । विभिन्न सिलसिलामा विदेशमा रहेकाहरु घर फर्केर गौराको प्रसादको रुपमा बिरुडालाई ग्रहण गर्ने गर्दछन् । घर फर्कन नसक्नेहरुलाई लागि आफन्त भएकै स्थानमा बिरुडा पठाउने चलन समेत रहेको छ । रोजगारी लगायत अन्य सिलसिलामा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु गौराको अवसरमा घर फर्किनुलाई अनिवार्य जस्तै ठान्छन् । तसर्थ, वर्षको एक पटक आफन्तहरुलाई भेटघाट गराउने पर्वको रुपमा समेत गौरालाई लिइन्छ ।

विशेष गरी महिलाहरुले मनाउने यो पर्वमा पुरुषहरुको समेत उत्तिकै सहभागिता रहने भएकाले महिला–पुरुष बीचको सहर्काय गौरा पर्वबाट समेत झल्किन्छ । सुदूरपश्चिमेलीहरुले गौरालाई दशैंभन्दा पनि महत्वपूर्ण पर्वको रुपमा मान्दै आएका छन् । गौरा पर्व मनाउन स्थानीय मन्दिरमा जम्मा भएर बाजागाजासहित नाचगान र देउडा गीतसहित जम्मा भएर रमाउने गर्छन् । गौरामा बुढापाका, युवा युवतीहरु र महिलाहरु देउडा, धमारी, ढुस्को र माङ्गल फाग गीत गाउँदै नाचेर रमाइलो गर्ने गर्छन् ।

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित गित हो । यसलाई देउडा भाषा, देउडा गित, लोक देउडा आदी नाम दिएको पाइन्छ । यो भाषा खास गरी अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्यरुपमा अपनाइएको देखिन्छ । यो पश्चिमेली भाषा (जसलाई खष भाषा पनि भनिन्छ) मा गाईन्छ ।

गौरा पर्वले मध्य तथा सुदुरपश्चिम क्षेत्र र भारतको उत्तराञ्चल प्रदेशलाई सांस्कृतिक एवं सामाजिक रुपमा जोडेको छ । सुदूरपश्चिमबाट स्थायी र अस्थाई रुपमा बसाई सरेर गएकाहरुले काठमाडौं लगायतका जिल्लामा समेत केही वर्षदेखि गौरा मनाउन थालिएको छ । विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्वको क्षेत्र विस्तार हुँदै गएपनि गौरालाई राज्यले उचित सम्मान दिन सकेको छैन ।

गौरालाई राज्यले स्थानीय पर्वको रुपमा मात्रै मानेको छ । काठमाडौं आसपासका पर्वलाई देशैभरि थोपर्ने सरकारी प्रवृत्ति रहेपनि सुदूरको संस्कृतिले उचित सम्मान नपाउनु हेपाहा प्रवृत्ति हो । राज्यले मान्यता नदिँदा र मूलधारे संस्कृतिको दबावमा गौरा माथि उठ्न सकेको छैन । तर, आ–आफ्ना आधार क्षेत्रमा गौराको महत्व झनै बढिरहेको छ । सबै जाति एवं भूगोलका संस्कृतिलाई रक्षा गर्ने लोकतान्त्रिक पद्दतिमा गौरा पर्वलाई मूलधारको सांस्कृतिक पर्वको रुपमा स्थापित गराउनु जरुरी छ ।

salt training

कमेन्ट गर्नुहोस्