
चीनमा हालैका वर्षमा जनसंख्या तीव्र गतिमा घटिरहेको छ ।
जन्मिने भन्दा मर्ने मानिसको संख्या बढिरहेको छ ।
यस जनसांख्यिक संकटलाई सम्बोधन गर्नका लागि चिनियाँ कलेजहरूले अनौठो उपाय ल्याएका छन् । त्यहाँका नौवटा व्यावसायिक शिक्षा दिने कलेजहरूले अप्रिल महिनामा एक हप्ताको बिदा दिएर विद्यार्थीहरूलाई प्रेममा पर्न भनेका छन् ।
अप्रिल १ देखि ७ सम्मको बिदामा विद्यार्थीहरूलाई प्रकृति र जीवनको माया गर्न अनि मायाद्वारा आनन्द लिन भनिएको छ ।
वसन्तको आनन्द लिऊ, प्रेममा पर भन्ने नारा साथ रोमान्सका लागि चिनियाँ युवायुवतीलाई प्रेरित गरिएको छ । उनीहरूलाई होमवर्कका रूपमा डायरी लेख्न, व्यक्तिगत विकासको ट्य्राक राख्न अनि यात्राको भिडियो बनाउन भनिएको छ ।
चीनमा जन्मदर र विवाहदर दुवै घटिरहेका छन् । त्यसैले स्थानीय कम्पनी, प्रान्त र नगरहरूले मानिसलाई विवाह गराउनका लागि अनेक किसिमका योजना ल्याइरहेका छन् ।
केही कम्पनीहरूले ३० दिनको विवाह छुट्टी दिने गरेका छन् भने अन्यले शहरका महिलालाई गाउँका कुमारहरूसँग डेटिङ गर्न भनेका छन् ।