
यही शुक्रबारबाट हलमा नयाँ नेपाली फिल्म ‘बहाव’ रिलिज हुँदैछ ।
प्रमोद कंडेलको लेखन एवं निर्देशन रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल शीर्ष भूमिकामा छन् । छोरी र बुवाको भूमिकामा देखिएका यी दुईबीचको वैचारिक अन्तरद्धन्द्धलाई फिल्ममा पेस गरिएको निर्माण पक्षले जनाएको छ ।
अभिनेत्री सुरक्षा फिल्मलाई वैचारिक मनोरञ्जनको कथाका रुपमा प्रस्ट्याउँछिन् । उनी फिल्मको कथा केही हिसाबले आफ्नो जीवनसँग पनि मिल्ने बताउँछिन् ।
‘यो फिल्मको हिरो–हिरोइन भनेकै बाबु–छोरी अर्थात् कमलमणि दाई र म हौँ । यसका केही कथाहरू मसँग पनि सम्बन्धित छ’ सुरक्षाले मंगलवार सञ्चारकर्मीसँग भनिन्, ‘किनकी मेरो दुईजना ममी र एक बुवा हुनुहुन्छ । हाम्रो ८ जनाको परिवारमा अधिकांश महिलाहरू छौँ । फिल्ममा राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ ।’
फिल्ममा ‘सन्ध्या’ चरित्रमा प्रस्तुत उनले केही अंश आफूसँग मिलेपनि कथा भने नमिल्ने बताइन् ।
आफ्नो करिअर सुखद् बाटोमा गइरहेको अवस्थामा ‘बहाव’मा काम गर्नुको कारण स्क्रिप्ट नै भएको सुरक्षाले प्रष्ट पारिन् ।
‘फिल्म त्याग्नका लागि धेरै कारणहरू थिएँ । यसमा नयाँ मेकर आउँदै हुनुहुन्थ्यो । म आफ्नो सुखद बाटोमा गइरहेको करिअरलाई किन रिस्कमा हाल्नु भन्ने पनि प्रश्न पनि आउँछ’ सुरक्षाले अगाडि भनिन् – ‘तर फिल्म क्षेत्रमा आउँदा म कसैको अनुमति वा सहयोग धेरै लिएर आएको धेरै नभएको हुनाले स्वतन्त्र भएर काम गर्न चाहन्छु । यसको सन्दर्भमा स्क्रिप्ट पढेपछि यो कथा भन्नुपर्छ भन्ने बोध भएर नै जोडिएकी हुँ ।’
अभिनेता कमलमणि नेपालले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको खुलाए । उनले फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लागे पनि स्क्रिप्ट गहिरिएर पढ्दा फिल्ममा सुरक्षाको मनोभावलाई बुझेको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र म बीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ’, कमलमणिले खुलाए, ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई रोक्न सकिनँ । दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’

निर्देशक कँडेलले फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू रहेको बताए । ‘यो कथा लेखिरहँदा भाइको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगेँ, ती कुरा दर्शकले भाइको चरित्रमा पाउनुहुन्छ’, उनले भने । उनले फिल्मको कथा धेरैको परिवारको कथासँग मेल खाने दाबी गरे ।
निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको बताए । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शकमाझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनुपर्ने अवस्था छैन’, उनले भने ।
उनले नेपाली फिल्ममा केही नयाँ प्रयोग गर्न आफूले एआई थिममा पोस्टर बनाएको बताए । उनले फिल्मको मार्केटिङ नीतिमा ३ देखि ४ वटामात्र पोस्टर बनाउने र त्यो पोस्टर सन्ध्या चरित्रलाई नै लक्षित गर्ने भन्ने योजना अनुरूप एआई पोस्टर बनाएको खुलाए । ‘नेपालमा यस्तो किसिमको पोस्टर बनेको मैले सुनेको छैन । सोहीकारण नेपालमा पनि व्यावसायिक रुपमा काम गरौँ भनेर एआई थिममा पोस्टर बनायौँ’, उनले भने ।
स्वर्णीम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ । फिल्मले प्रचार सामग्रीबाट राम्रो प्रशंसा पाइरहेको छ ।