![चितवनका सचेत मतदाताले अब झुटो कुरा पत्याउँदैनन्ः एमाले उम्मेदवार न्यौपाने [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Ram_Prasad_Neupane_10_gCDxc6dm9a.jpg)
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उक्त क्षेत्रका निवर्तमान सांसद रवि लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद पद गएपछि उपनिर्वाचन हुन लागेको हो ।
नागरिकता पुनः प्राप्ति गरेर लामिछाने उम्मेदवारका रूपमा दोहोरिएका छन् ।
यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सबै उम्मेदवारहरू चुनावलाई लक्षित गरी भेला र प्रचारप्रसारको तयारीमा छन् । यसै सन्दर्भमा लोकान्तरका लागि गगन अर्यालले एमाले उम्मेदवार न्यौपानेसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सार :
पहिलोपटक संसदीय चुनावका लागि मैदानमा उत्रिनुभयो । चितवनबासीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले निर्वाचनको हिसाबले पहिलोपल्ट प्रतिस्पर्धा गरेको छु । चितवनको आन्दोलनमा लागेको, यहाँको दुःखसुखमा जोडिएको व्यक्ति उम्मेदवार उठ्दा नागरिकहरू उत्साहित भएको मैले पाएको छु । मलाई शुभकामना दिनुभएको छ ।
तपाईंलाई जिताएर यो क्षेत्रको विकासका काम अगाडि बढाउँछौं भन्नुभएको छ । उहाँहरूले तपाईंले निराश बनाउन पाउनुहुन्न भन्नुभएको छ । मैले कसैलाई निराश बनाउँदिनँ । यही माटोमा हुर्केको हुँ । यहाँको बोरमा धेरै कुरामा जानकार छु ।

के एजेन्डा लिएर जनताकोमा जाँदै हुनुहुन्छ ? जिते के गर्नुहुन्छ ?
जनताहरू अहिले परिवर्तनशील छन् । जनतालाई सरकारी सेवा प्रवाह गर्ने कुरामा धेरै सुधार गर्नुपर्ने अवस्था छ । राज्य अहिले यसमा चुकिरहेको छ ।
जनतामा निराशा बढेको छ । हामीजस्ता युवाले जितेर गएको खण्डमा त्यस्ता विषयलाई उठाउन सक्छौं ।
यदि म जितेर गएको खण्डमा जनतालाई सेवा प्रवाह गर्ने विषयमा काम गर्नेछु । चितवनमा शिक्षा, स्वास्थ्यलगायतका समस्याहरू छन्, तिनलाई समाधान गर्नुपर्ने अवस्था छ ।
अहिले स्वास्थ्य बिमालगायत विषयहरू पनि छन्, ती काममा पनि ध्यान केन्द्रित गर्नेछु । वैदेशिक रोजगारीमा गएका युवालाई रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी नीति बनाउन लाग्नेछु ।
यहाँ चेपाङहरूका लागि बसोवास कार्यक्रम पनि अगाडि बढाउने योजना छ । यहाँका जनजातिहरूको स्तरोन्नतिका विषयमा पनि काम गर्नुपर्ने छ ।
इच्छाकामना लगायतका क्षेत्रमा खानेपानीको समस्या रहेछ, त्यस विषयमा के गर्नुहुन्छ ?
जनतालाई अप्ठ्यारो परेका हरेक समस्या समाधानका लागि सधैं अगाडि रहनेछु । त्यो क्षेत्रमा विद्युतको समस्या थियो, लगभग त्यो समस्या हामीले समाधान गरेका छौं ।
यातायातको क्षेत्रमा हामीले काम गरेका छौं । भोलि जितेपछि त्यहाँका जनताका अन्य समस्या साधनका विषयमा पनि सधैं अगाडि बढेर काम गर्नेछु ।

अघिल्लोपटक रवि लामिछानेले यहाँबाट फराकिलो मतान्तरले चुनाव जित्नुभएको थियो । यसपटक के आकलन गर्नुभएको छ ?
जनता कसैको मुठ्ठीको पेवा होइनन् । अघिल्लोचोटी आक्रोशका कारण जनताले आफ्नो विवेकलाई फरक ढंगले प्रस्तुत गर्नुभएको हो ।
अहिले त्यो अवस्था छैन । अहिले हामीले नागरिकका इच्छा र चाहनालाई पूरा गर्ने संकल्प गरेका छौं ।
विगतका दिनबाट शिक्षा पनि पाएका छौं । एमालेले धेरै कुरामा नागरिकको समस्यालाई सम्बोधन गरेको छ, तर त्यसबाट पनि सन्तुष्ट हुनुभएको रहेन छ, अब हामीले अझै जनताको चित्त बुझाउने गरी काम गर्छौं । हिजोका दिनमा कति मतान्तरले जिते वा हारे भन्ने विषय होइन, कति काम गर्न सक्यौं भन्ने विषयले फरक पार्छ ।
अर्को कुरा जितेर गएका सांसद कति ‘इथिकल’ हुनुहुँदोरहेछ भन्ने कुरा त प्रमाणहरूले पनि त प्रस्ट पार्यो नि ! अहिले जनताले त्यो विषयलाई राम्रोसँग बुझ्नुभएको छ । त्यसैले हिजोको अवस्था दोहोरिन नदिन पनि जनताले मलाई जिताउनुहुन्छ भन्ने मेरो विश्वास हो ।
हामी यही जिल्लाको उपज हौं । यही जिल्लामा हुर्कियौं । यही जिल्लामा बढ्यौं । यहाँको हावा र माटोले हामीलाई चिनेको छ । यहीँ सामाजिक रूपान्तरणको आन्दोलनमा होमियौं । तर, सामाजिक सञ्जालमा भ्रमपूर्ण कुरा फैलाएर जितेर जाने र आफ्नो स्वार्थ पूरा गर्ने काम भयो । त्यो कुरा प्रमाणहरूले पनि देखाए । चितवनका सचेत मतदाताले त्यो कुरा बुझ्नुभएको छ ।
उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले मेरो मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार हो भन्नुभएको थियो । तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
आजका मितिसम्म २४ जना उम्मेदवार छौं । उहाँहरू सबै मेरो प्रतिस्पर्धी हो । उहाँहरूलाई उछिनेर मेरो जित निश्चित छ ।
हेर्नुहोस्, भिडियो :