०७ साउन २०८३, बिहीबार

आँखा अस्पतालको सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना सार्वजनिक

आँखा अस्पतालको सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना सार्वजनिक
प्रतिकात्मक तस्वीर

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाएको छ ।

अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो ।

सेवा विस्तार गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा स्थानीयस्तरमै पुर्‍याउने योजनाका साथ आवश्यक कार्ययोजना बनाइएको अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
     
नेपाल आँखा अस्पताल स्थापनाको स्वर्ण महोत्सवका अवसरमा शनिवार आयोजित ‘नेपाल आँखा अस्पताल हिजो, आज र भोलि’ विषयक अन्तक्र्रियामा उनले अस्पतालको सेवा दुर्गम जिल्लासम्म पुर्‍याउन जरुरी रहेको बताउँदै सबै जिल्लामा कम्तीमा पनि मोतिबिन्दुको शल्यक्रिया गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिए ।
     
‘स्तरीय ल्याबसहित आँखा उपचारमा विशिष्टिकृत सेवा दिइरहेको हाम्रो सेवालाई देशैभर पुर्‍याउन नसके पनि जनघनत्व बढी भएका जिल्लामा सेवा विस्तार गर्न अनिवार्य भइसकेको छ,’ डा. पोखरेलले भने, ‘सेवालाई ग्रामीण भेगसम्म विस्तार गरेर बालबालिकामा हुने आँखा सम्बन्धी जन्मजात रोगको समयमा नै पहिचान गरेर निदान गर्न सके भावी सन्ततिलाई लाभ पुग्छ ।’
     
देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरी काम गर्ने उनले बताए ।
     
कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा. कमलबहादुर खड्काले अस्पताले पूर्वाधार, उपकरणयुक्त सेवा स्तरीकरणमा ध्यान दिएको बताउँदै व्यवस्थापकीय पक्षमा सुधार गरी सेवालाई छिटो र छरितो बनाउने प्रयास भइरहेको उल्लेख गरे ।
     
अस्पतालका रिफ्याक्टिभ सर्जरी डा. किशोर प्रधानले गुणस्तरीय दृष्टि आमनागरिकको अधिकार भएकाले हरेक ६ महिनामा दृष्टि परीक्षण गरी आँखाको हेरचाहमा ध्यान दिन सबैलाई अनुरोध गरे । उनले रिफ्याक्टिभ सेवाबारे नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
     
कार्यक्रममा व्यवस्थापन दमनबहादुर घलेले सानो संस्थादेखि उच्च सरकारी निकायमा व्यवस्थापकीय पक्ष महत्त्वपूर्ण रहेकाले व्यवस्थापकीय नेतृत्व व्यावसायिक भएमा मात्रै संस्थागत सुधार गरी प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्