मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चैत २८, २०७९
सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका कारण अमेरिकी नेतृत्वको एकध्रुवीय विश्व व्यवस्था क्रमशः कमजोर बन्दै गएकोमा युक्रेन युद्धले त्यसलाई विधिवत अन्त्येष्टि गर्न लागेको देखिएको छ ।
युक्रेन युद्ध शुरू भएपछि विश्व राजनीतिमा विकसित घटनाक्रमको अवलोकन गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ । अमेरिकाको अन्तर्राष्ट्रिय आर्थिक नीति तथा परराष्ट्रनीति यति द्रुत गतिमा कमजोर बनी असान्दर्भिकतातर्फ धकेलिन थाल्ला भनी धेरैले अनुमानै गरेका थिएनन् ।
अमेरिका यसरी ओरालो लाग्दा चीनको उदय भने थप प्रभावशाली बन्दै गएको छ । शीतयुद्धको समयमा अमेरिकासँग सुसम्बन्ध कायम गरी आर्थिक खुलापनको बाटोमा हिँडेको चीन चार दशकभित्र (कुल गार्हस्थ्य उत्पादनको सवालमा) विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
अनि सन् २०१३ मा चीनले अमेरिकालाई उछिनेर पर्चेजिङ पावर प्यारिटीको सवालमा विश्वको पहिलो अर्थतन्त्र बनेपछि चीनलाई अमेरिकीहरूले जोखिमका रूपमा लिन थाले । त्यसपछि नै दिनरात चीनको दानवीकरण शुरू भयो ।
आफू बराबर वा आफूभन्दा माथि अन्य कुनै पनि मुलुक आउन नदिने अमेरिकाको नीति हो । त्यसरी आफ्नो बराबरी गर्न खोज्ने मुलुकलाई रोक्न (कन्टेनमेन्ट) अमेरिकाले अनेकौं प्रयास गर्छ ।
चीन आफूबराबरको महाशक्ति (पीयर कम्पिटिटर) भएको कुरा अमेरिकाले सुरक्षा दस्तावेजमै उल्लेख गरिसकेको छ । अनि चीनविरुद्ध अमेरिकाका दुवै प्रमुख दलका नेताहरूले रातदिन विषवमन गर्ने गरेका छन् ।
यस्तो अवस्थामा पनि अमेरिकाले सन् १९७२ मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनद्वारा प्रत्याभूति गरिएको एक चीन नीतिलाई कायम राख्नेछ भनी चीनले अपेक्षा गर्दै आएको थियो । तर अहिलेका राष्ट्रपति जो बाइडनले ताइवानको प्रतिरक्षाका लागि अमेरिकाले सहयोग गर्ने भनी ताइवानलाई कुनै स्वतन्त्र राष्ट्रको जस्तो रूपमा लिएका छन् ।
अनि पोहोर साल बाइडनकै दलकी संसद् सभामुख न्यान्सी पलोसीले चीनको आपत्तिका बावजूद ताइवानको उत्तेजनात्मक भ्रमण गरी चीनलाई शत्रुका रूपमा व्यवहार गरिने स्पष्ट सन्देश दिइन् । गत साता मात्र ताइवानकी राष्ट्रपति त्साई इङ–वनलाई अमेरिकाका बहालवाला सभामुख केभिन मककार्थीले अमेरिकामै भेटेपछि अब चीनले अमेरिकासँग सौहार्द्रताको अपेक्षा गर्नु निरर्थक रहेको कुरा बुझिसकेको छ ।
यति हुँदाहुँदै पनि चीनले अमेरिकासँगको सम्बन्ध सुधार गर्न सकिन्छ कि भनी सन् २०२२ को अन्त्यतिर कोशिश गरेको थियो । ब्याकच्यानलमार्फत कूटनीतिक वार्ताका लागि उसले पहल गरेकोमा सन् २०२३ को जनवरी र फेब्रुअरी महिनामा भएको बलून काण्डले त्यसलाई ध्वस्त पारेको थियो ।
मौसमसम्बन्धी जानकारी संकलन गर्ने सामान्य बलूनलाई गुप्तचरी उपकरण भन्दै अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी खसाएको थियो । अनि त्यही बहानामा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रद्द गरेका थिए ।
त्यसपछि चाहिँ चीन अब द्विदेशीय राजनीतिक सम्बन्ध तत्कालका लागि नसुध्रने निष्कर्षमा पुगेको देखिन्छ । त्यसैले युक्रेन युद्ध चलिरहेकै समयमा चीनका राष्ट्रपति सी चिनपिङले रुसको भ्रमण गरी त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आत्मीयता प्रकट गरे । त्यहाँ चीन र रुसले मिलेर जारी गरेको संयुक्त घोषणाले पश्चिमलाई कटु आलोचना गरेको छ ।
युक्रेन युद्धका कारण अमेरिका नेतृत्वको पश्चिमले रुसमाथि लगाएको कठोर प्रतिबन्धलाई देखेर चीनले भविष्यमा आफूमाथि पनि त्यस्तै व्यवहार हुन सक्ने कुरा बुझेर साझेदारी निर्माणलाई मजबुत बनाउन खोजिरहेको छ । रुससँगको सम्बन्धलाई थप गहिरो बनाउने पहल त्यसैअन्तर्गत भइरहेको हो ।
उता अमेरिकाले चाहिँ चीनसँग राजनीतिक मात्र नभई आर्थिक सम्बन्ध विच्छेद पनि गर्न खोजेको छ । चीनप्रतिको आर्थिक निर्भरता घटाउनका लागि बाइडन प्रशासनले विभिन्न किसिमका नीतिहरू सार्वजनिक गरेको छ । आधुनिक विद्युतीय उपकरणहरूमा जडान गरिने सेमीकन्डक्टर चिप चीनलाई बेच्न अमेरिकाले प्रतिबन्ध लगाउनु त्यसको एउटा उदाहरण हो ।
त्यसपछि चीनले आफैं सेमीकन्डक्टर चिपको उत्पादनलाई बढाउनका लागि स्वदेशी उद्योगलाई १० खर्ब युआन बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ ।
साथै, विद्युतीय गाडी, विमान तथा आधुनिक क्षेप्यास्त्रहरूमा उपयोग हुने रेयर अर्थ्स अमेरिकातर्फ निर्यात गर्नबाट प्रतिबन्ध लगाउनका लागि पनि योजना बनाइरहेको छ । अहिले विश्वमा उत्पादन गरिने ९८ प्रतिशत रेयर अर्थ्समा चीनको नियन्त्रण छ ।
आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयासका साथै सैन्य मोर्चामा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि पनि चीन तत्पर देखिएको छ । दक्षिण चीन सागरमा आइपुगेका अमेरिकी जंगी जहाज र लडाकू विमानहरूलाई चिनियाँहरूले रोक्न थालेका छन् । अनि ताइवानकी राष्ट्रपतिले अमेरिकासँग हिमचिम बढाएको जवाफमा चिनियाँ जलसेनाले आफ्ना जहाजी बेडाहरू पठाएर घेराबन्दी तथा आक्रमणको अभ्यास गर्न थालेको छ ।
आर्थिक र सैन्य मोर्चाका साथै कूटनीतिक क्षेत्रमा समेत चीनले अग्रसरता प्रदर्शन गरिरहेको छ । विगतमा विश्व राजनीतिमा खासै हस्तक्षेप गर्न नरुचाउने चीनले पोहोर साल ग्लोबल सिक्योरिटी इनिसिएटिभ ल्याएर विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिबहालीका लागि प्रभावकारी कूटनीतिक पहल शुरू गरेको छ ।
त्यसको उदाहरणका रूपमा इरान र साउदी अरबबीच चीनले गराएको कूटनीतिक सम्बन्ध पुनःस्थापनालाई लिन सकिन्छ । गत साता ती दुई देशका परराष्ट्रमन्त्री बेइजिङमा बैठक गरी कूटनीतिक सम्बन्धलाई औपचारिकता दिनका लागि सहमत भए ।
त्यसैको कडीका रूपमा यसै साता साउदी अधिकारीहरू इरान गएर त्यहाँ दूतावास तथा वाणिज्य दूतावास खोल्नका लागि सम्भाव्यता अध्ययन गरिरहेका छन् । आफूलाई यसको सुइँको नदिइएको भनी अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले साउदीहरूसमक्ष गुनासो समेत गरेका छन् ।
पढ्नुहोस् यो पनि :
चीनको उक्त पहलका कारण आठ वर्षदेखि चल्दै आएको विनाशकारी यमन युद्ध पनि टुंगिने लक्षण देखिएको छ । उक्त युद्धमा इरानले विद्रोही हूती समूह तथा साउदी अरबले त्यहाँको सरकारलाई समर्थन गर्दै आएका थिए ।
हिजै मात्र साउदी र ओमानका प्रतिनिधिहरू यमनको राजधानी सना पुगेर हूतीहरूसँग शान्तिवार्ता शुरू गरिसकेका छन् । यमन युद्धमार्फत इरानलाई कमजोर बनाउन सकिने भनी अमेरिकाले बनाएको रणनीति यसरी विफल बन्ने देखिएको छ ।
अनि सिरियाको गृहयुद्ध अन्त्यका लागि पनि चीनले रुससँग मिलेर पहल थालेको छ । अमेरिका नेतृत्वको पश्चिमले सिरियाका राष्ट्रपति बशर अल–असदलाई हटाउनका लागि गरेको प्रयासस्वरूप सन् २०११ देखि शुरू भएको गृहयुद्धमा लाखौं मानिसको ज्यान गइसकेको छ ।
त्यसलाई अन्त्य गर्न अनि सिरियालाई अरब लीगमा ल्याउनका लागि टर्कीसँग समन्वय गर्दै चीन र रुसले प्रयास गरिरहेका छन् । यसबाट चीनको छवि विश्वमा शान्तिको पहलकर्ताका रूपमा स्थापित भएको छ र गैरपश्चिम मुलुकहरूमा चीनको सफ्ट पावर ह्वात्तै बढेको छ ।
अमेरिकाको कनिष्ठ साझेदारका रूपमा रहेका युरोपेलीहरूमाझ पनि चीनले प्रभाव बढाउन थालेको छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई गत साता चीन भ्रमणका क्रममा चिनियाँहरूले सम्मानपूर्वक व्यवहार गरेपछि म्याक्रों खुशी हुँदै चीनसँग सम्बन्ध टुटाउने भूल युरोपेली संघले गर्न नहुने भन्न थालेका छन् ।
बेइजिङबाट पेरिस फर्किने क्रममा विमानभित्रै पोलिटिको पत्रिकाका संवाददाताहरूसँग कुरा गर्दै म्याक्रोंले विस्फोटक बयान दिए । अमेरिकाप्रति युरोपको निर्भरता घटाउनुपर्ने, अमेरिकाको पिछलग्गू बन्न नहुने अनि ताइवानका विषयमा चीन र अमेरिकाबीच भइरहेको द्वन्द्वमा युरोपेलीहरू मुछिन नहुने समेत उनले बताएका छन् । चीनका राष्ट्रपतिसँग ६ घन्टा बिताएका म्याक्रोंले युरोपको रणनीतिक स्वायत्ततासम्बन्धी आफ्नो अडानलाई दोहोर्याए ।
म्याक्रोंको यस बयानले अमेरिकीहरूलाई आक्रोशित तुल्याएको छ । अमेरिकाका सिनेटर मार्को रुबियोले ताइवानमा युरोपले कुनै पक्ष नलिने हो भने युक्रेन संकट युरोपेलीहरूले नै समाधान गरे हुन्छ भनी चेतावनी दिएका छन् ।
वास्तवमा चीनको सहयोगविना युक्रेन युद्ध समाप्त हुँदैन किनकि पुटिनमाथि सीको बाहेक अरू कसैको पनि प्रभाव छैन भन्ने कुरा बुझेका म्याक्रोंले युद्ध अन्त्यका लागि प्रयास गर्न सीलाई अनुरोध गरेका हुन् । युक्रेन युद्ध चलिरहेमा युरोप कमजोर बन्दै गएर धराशायी हुने स्थितिमा पुग्नेछ भन्ने चिन्ता म्याक्रोंलाई छ । यसबाट पनि विश्व राजनीतिमा चीनको महत्त्व उजागर भएको छ ।
पढ्नुहोस् यो पनि :
आफू र रुसलाई अमेरिकाले शत्रुका रूपमा प्रस्तुत गरी रोक्न खोजेपछि चीनले अमेरिकी प्रभुत्वको प्रमुख स्रोत डलरलाई विस्थापित गर्ने प्रयासलाई तीव्रता दिन थालेको छ ।
चीन र रुसले ब्रिक्स मुलुकहरूको नयाँ अन्तर्राष्ट्रिय मुद्रा बनाउनका लागि पहल गरिरहेका छन् भने अनेकौं गैरपश्चिम मुलुकहरूले डलरको साटो चिनियाँ मुद्रा युआनमा कारोबार गर्न थालेका छन् । पिपुल्स बैंक अफ चाइनाले सन् २०२३ मा ३०० खर्ब युआनको अन्तर्राष्ट्रिय कारोबार गर्ने लक्ष्य लिएको ग्लोबल टाइम्सले खबर दिएको छ ।
गैरपश्चिमी बहुराष्ट्रिय संस्था ब्रिक्स र एससीओमा चीनले गरेको सकारात्मक प्रयासका कारण धेरै मुलुकहरू सदस्य बन्न लालायित भइरहेका छन् । पश्चिमको युद्धवादी, उपनिवेशवादी तथा हैकमवादी रवैयाबाट आजित भएका एसियाली, अफ्रिकी र दक्षिण अमेरिकीहरू यी गैरपश्चिमी समूहमा जोडिएर समृद्धिको बाटोमा हिँड्न खोजिरहेका छन् ।
यसरी चीनले रुससँग मिलेर अमेरिकी साम्राज्यवादको आधारस्तम्भमा प्रहार गरिरहेको छ । यसले विश्वलाई न्यायपूर्ण बहुध्रुवीयताको बाटोमा लैजानेछ अनि शान्त र समृद्ध पनि बनाउनेछ । तर एकध्रुवीयताका पक्षधरहरूले त्यसको अन्त्यलाई सहजै स्वीकार गर्ने छैनन् र प्रतिशोधका लागि उनीहरूले अवश्य प्रयास गर्नेछन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...