२० असार २०८३, शनिबार

सुरक्षाकर्मीले मिल्दैन भन्दा पनि राष्ट्रपति पौडेल मञ्चबाट ओर्लिएपछि ...

सुरक्षाकर्मीले मिल्दैन भन्दा पनि राष्ट्रपति पौडेल मञ्चबाट ओर्लिएपछि ...

राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रूपमा अशक्तता भएका एक वृद्ध अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए । 

त्यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे । त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपतिलाई त्यसरी जान नमिल्ने संकेत गरे । 

तर, राष्ट्रपति पौडेलले मानेनन् । तलै ओर्लेर ती अशक्तता भएका वृद्धलाई पदक लगाइदिए । 

ती वृद्ध पुरुष मात्र होइन शारीरिक रूपमा अशक्तता भएका वृद्धवृद्धालाई राष्ट्रपति पौडेलले मञ्चबाट तल ओर्लेर पदक प्रदान गरेका थिए । 

अशक्तता भएका अर्का व्यक्ति

यसैबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २ सय पाँच जनालाई जनसेवाश्री पदक प्रदान गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला (मरणोपरान्त)सहित विभिन्न क्षेत्रका ७ सय २८ जनालाई विभुषण प्रदान गरेका हुन् ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व कोइरालालाई दिइएको नेपाल रत्न उहाँंकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरे । 

यस्तै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आफै पुगेर राष्ट्र गौरव पदक लिए ।

राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’ लाई प्रदान गरिएको राष्ट्र गौरव उनकी धर्मपत्नी माया न्यौपानेले बुझिन् । त्यसक्रममा संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई पनि मरणोपरान्त पदवी प्रदान गरियो ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री डा. जगमान गुरुङलाई प्रदान गरियो । 

समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो । 

मन्त्रिपषिद्को सिफारिशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । 

नेपालको संविधानको धारा २७७ उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट दिइने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्