
सजिलो छिटो र स्वस्थकर परिकारमा स्यान्डविच पनि पर्दछ । युरोप–अमेरिकामा यसको ठूलो खपत हुन्छ ।
स्यान्डविचका हजारौं भेराइटी हुन्छन् । भेज, ननभेज, भेगान गरी स्यान्डविचलाई वर्गीकरण गरिएको छ । फास्टफूडको रूपमा लोकप्रिय स्यान्डविचहरू धेरैले रुचाउने र बेफुर्सदीका लागि अत्यन्त राम्रो विकल्प पनि सावित भएको छ ।
स्यान्डविचको प्रचलन नेपालमा पनि व्यापक छ । हरेकजसो रेस्टुरेन्टको मेनुमा यो परिकार समावेश हुन्छ । झन् कफी शपहरूमा त यो परिकार अनिवार्य नै मानिन्छ तर सबैजसो रेस्टुरेन्ट तथा कफी शपहरूमा एकै खालका स्यान्डविचहरू मेनुमा समावेश गरेको पाइन्छ । सबै खालका स्यान्डविच स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् भन्ने हुन्न ।
स्वास्थ्यप्रति सजग रहेर स्यान्डविचका परिकार समावेश गर्नेहरू कमै भेटिन्छन् । मल्टीग्रेन्ड, ब्राउन ब्रेड र फोकसिया ब्रेडमा तयार गरिएका स्यान्डविचहरू स्वस्थकर मानिन्छ । स्यान्डविचमा धेरै बाटर, मायोनिज, चिज प्रयोग गर्नु स्वास्थ्यका हिसाबले राम्रो हुन्न ।
बिहानको खाजा, दिउँसोको खाजा या बेलुकाको डिनरमा स्वस्थकर स्यान्डविचहरू उपयुक्त मानिन्छ । लाइट स्न्याक्सको रूपमा आफ्ना बालबालिकालाई पनि आफैंले तयार गरेर स्यान्डविच दिन सकिन्छ ।
स्यान्डविचहरू चिसो र तातो दुवै भर्सनमा सर्भ गर्न सकिन्छ । कतिपय स्यान्डविचहरू वार्म पनि सर्भ गर्न गरिन्छ । स्यान्डविचसँग फ्रेन्च फ्राइज या चिप्स दिने चलन छ, यो त्यति राम्रो हुन्न । बरु कुनै अचार, सलाद या प्राकृतिक रूपमा आफैंले बनाएको स्याउको, टोम्याटोको, क्यारोटको या बीटरुटको चिप्स दिँदा उत्तमा हुन्छ । गर्मी समयमा केही उपयोगी र स्वस्थकर भेज स्यान्डविचका रेसिपीहरू यहाँ समावेश गरिएको छ ।
केही स्वस्थकर स्यान्डविचका रेसिपीहरू –
आभोगाडो टोस्ट स्यान्डविच
यो स्यान्डविच बनाउन एउटा पाकेको घ्यूफल लिएर ताछ्ने र प्यास बनाउने । स्वादअनुसार नून, मरिचको धुलो, लेमन जुस, धनियाँ चप, हरियो खुर्सानी या हालानिनो चप गरेर मुछ्ने । ६ पिस पाउरोटीलाई टोस्ट गरेर एक साइड लगाउने ।
तयार भएको आभोगाडोको पेस्टलाई ब्रेडमा स्प्रेड गरी अर्को ब्रेडले छोपिदिने । रेक्टेङ्गल सेभमा काटेर साइड मिक्स माइक्रो ग्रिन्स सलाद र टोम्याटो चिप्स र बीट चिप्स गार्निस गरेर सर्भ गर्न सकिन्छ ।
बीट टोस्ट स्यान्डविच
यो स्यान्डविच बनाउन एस् पिस ब्रेड टोस्ट गरेर एक साइड लगाउने । एउटा ठूलो पिस चुकन्दरलाई ताछेर ग्रेट गर्ने र पानी निचर्ने । नून, मरिचको धुलो, थोरै हनी या चिनी, कागतीको रस २ चम्चा, थोरै जैतुनको तेल र मसिनो गरी काटेको शप हाली एक साइड लगाउने । ३ चम्चा भेज मायोनिज सस हालेर मिक्चरलाई राम्ररी मोल्ने र ब्रेडमा दलेर अर्को ब्रेडले छोप्ने । आफूलाई इच्छाएको सेभमा काटेर सलाद र कुनै डीप साइडमा राखेर सर्भ गर्ने ।
कर्न टोस्ट स्यान्डविच
यो सेन्डुज तयार गर्नका लागि अघिल्ला स्यान्डविच जस्तै ६ पिस ब्रेडलाई टोस्ट गरेर एक साइड लगाउने । स्वीट कर्न ३५० ग्राम लिएर बटरमा ब्राउन हुने गरी डाम्ने । ब्लेन्डरमा राखेर क्रेस गर्नासाथ स्वाद अनुसारको नून, मरिचको धुलो, थोरै चिज, मायोनिज सस हालेर मोल्ने र एउटा बाउलमा राख्ने । ३ पिस ब्रेडमा दल्ने र अरु ३ पिस ब्रेडले छोपिदिने । आफ्नो इच्छा अनुसारको सेभमा काटेर साइडमा सलाद र दिप राखी सर्भ गर्ने ।