२५ जेठ २०८३, सोमबार

संसद् बैठक मंगलबारसम्मका लागि स्थगित

जेठ २५, २०८३
काठमाडौं
संसद् बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगित भएको छ । 

सोमबार दिउँसो सवा १ बजे  १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्ने वातावरण नबन्दा भोलिका लागि सारिएको हो ।

संसद् सचिवालयले प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित भएको सूचना टाँस गरी जानकारी गराएको छ । गत फागुन २१ को निर्वाचनपछिको नयाँ प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्‌को रोष्ट्रमबाटै ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसयता विपक्षी दलले विरोध गर्दै आएका छन् । विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्‌मै आएर सच्याउनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन् । 

संसद् खुलाउने विषयमा रास्वपाले सोमबार बिहान विपक्षी दलहरूसँग छलफल गरेको थियो । तर उक्त छलफलमा पनि सहमति जुट्न सकेन ।

सभामुख अर्यालले दलहरूलाई सहमति जुटाउने समय प्रदान गर्नका लागि सोमबारको बैठक मंगलबारसम्मका लागि स्थगित गरे । 

salt training

कमेन्ट गर्नुहोस्