
एकपछि अर्को काण्ड घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ ।
उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको विश्वास घट्ने र मत प्रभावित हुने टीकाटिप्पणी भएको थियो । तर, रास्वपाले ती अनुमानलाई खण्डन गरिदिएको छ ।
नेपाली कांग्रेसको गढ तनहुँमा रास्वपाका उम्मेदवारले पाइरहेको मतले भर्खरै बामे सर्दै गरेको दलप्रति जनताको भरोसा देखिएको हो ।
तनहुँ– १ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारले पाएको मतले रास्वपाको लोकप्रियता बढेको देखिएको छ ।
पार्टी सभापति रवि लामिछाने उठेको निर्वाचन क्षेत्र चितवन २ मा रास्वपाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेको छ ।
सोमवार ढिला गरी शुरू मतगणनामा रविले अग्रता लिन शुरू गरेका छन् । शुरूमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएकोमा दोस्रो अपडेटमै रविले अग्रता लिन शुरू गरेका छन् ।
आफ्नो जीतमा ढुक्क रहेका रविले उपनिर्वाचनमा ‘एकको बदला तीन’को नारा दिएका थिए । रास्वपाले गुमाएको एक सीटको ठाउँमा तीन सीट जित्ने उनको दाबी थियो । बारा– २ मा भने रास्वपाका उम्मेदवार रमेश खरेल मुख्य प्रतिस्पर्धामै नरहेको सर्वेक्षणहरूले देखाएका छन् ।
सोमवार मध्याह्नसम्मको मतगणना रुझानले तनहुँमा स्वर्णिम वाग्लेको जीत सुनिश्चित जस्तै देखएिको छ । मतगणना भएका नगरपालिका र गाउँपालिकाका सबैजसो वडामा उनले लीड गरिरहेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारसँग उनले मतान्तर फराकिलो बनाएका छन् । त्यहाँ मंसिरको चुनावमा कांग्रेसले राम्रो मतान्तरसहित जितेको थियो । मंसिरमा चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको थियो ।
चैत २० मा उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेले पाएको मतले रास्वपाका नेताहरू उत्साही बनेका छन् । तनहुँ– १ मात्र नभएर देशका अन्य भूभागमा पनि पार्टीको लोकप्रियता बढेको रास्वपाको विश्लेषण छ ।
मंसिरको चुनावमा रास्वपाले बागमती प्रदेशका काठमाडौं, ललितपुर र चितवनमा प्रत्यक्षतर्फ चुनाव जितेको थियो । उपनिर्वाचन रास्वपाका लागि बोनस भएको छ । उसले आफ्नो प्रभाव गण्डकी प्रदेशमा पनि विस्तार गरेको छ । संसद्मा २० सीट रहेकोमा रविको सांसद पद खारेज भएपछि १९ मा झरेको थियो ।
चितवनमा रविले जितेमा गुमेको सीटको क्षतिपूर्तिसहित संसद्मा रास्वपा २१ जना सांसदसहितको चौथो ठूलो दलका रूपमा कायम रहनेछ । मंसिरको चुनाव रविले फराकिलो मतान्तरले जितेका थिए । विगतको मतलाई जोगाउने रास्वपाको रणनीति थियो । कांग्रेस–एमालेको रणनीति भने रास्वपातिर गएको मत फिर्ता ल्याउनेमा केन्द्रित थियो ।
रास्वपा महामन्त्री डा. मुकुल ढकाल पार्टीले लिएको नीतिलाई जनताले अनुमोदन गरेको बताउँछन् ।
‘हाम्रो पार्टी, पार्टीले लिएको नीति र उम्मेदवारलाई जनताले विश्वास गरे । जनता परिवर्तनको पक्षमा तयार भएका छन् भन्ने उपनिर्वाचनको सन्देश हो,’ ढकालले सोमवार लोकान्तरसँग भने ।
रास्वपाले पाएको मतले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दल झस्किएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा सिद्धान्त र आदर्शभन्दा पनि सेन्टिमेन्ट, आवेग र अराजकता बढेको टिप्पणी गरेका थिए ।
‘कम्युनिस्ट आन्दोलन मात्र नभई राजनीति नै विचार, सिद्धान्त र मूल्यबाट विचलनमा जालाकि भन्ने चिन्ता छ । गत चुनावलाई हेर्दा विचार, सिद्धान्त, मूल्यमान्यता बोकेको दल र उम्मेदवारभन्दा सेन्टिमेन्ट, आवेग र अराजकतालाई प्रश्रय दिएको देखियो । यसविरुद्ध बुद्धिजीविबाट वैचारिक बहस जरुरी छ,’ रास्वपाप्रति लक्षित गर्दै प्रचण्डले भनेका थिए ।
नेकपा एमालेका नेताहरूले पनि रास्वपाको अस्वाभाविक उदयप्रति कटाक्ष गरिरहेका छन् । ठूला दलका नेताको व्यंग्य र कटाक्षका बावजुद रास्वपाले आफ्नो प्रभाव विस्तार गरिरहेको उपचुनावको नतिजाले संकेत गरेको छ । रास्वपाको विस्तारले यसपटक सबैभन्दा क्षति कांग्रेसलाई भएको छ । कांग्रेसले तनहुँजस्तो आफ्नो बलियो आधार क्षेत्र गुमाएको छ भने बिकाउ उम्मेदवार पनि ।
तनहुँको प्रारम्भिक नतिजा सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार संसदीय दलमा दिएको अभिव्यक्ति महत्त्वपूर्ण छ– पुराना दलप्रति जनताको चासो देखिएन ।