
मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सरकारी सम्पत्ति लिएर गएको पाइएको छ ।
सरुवा भएपछि नगरपालिकाको सरकारी क्वार्टर छाड्दा उनले त्यहाँ रहेका टीभी, सोकेस, फ्रिज, एसी, ग्यास सिलिन्डर लिएर गएको नगरपालिकाका एक कर्मचारीले बताए ।
प्रमुख प्रशासकीय अधिकृतका लागि सुन्दरहरैंचा नगरपालिकाले खोर्सानेमा निजी घर भाडामा लिएर क्वार्टर उपलब्ध गराउँदै आएको छ ।
चैत २३ गते नै कार्यालयबाट बिदा भएका भट्टराईले तीन दिनअगाडि मात्रै सरकारी क्वार्टर छाडेका थिए ।
क्वार्टर छाडेर सामग्री लगेको सूचना पाएपछि प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलगाईंले लेखा प्रमुख, स्टोर शाखाका प्रमुख र प्रशासन प्रमुखलाई बोलाएर सामग्री फिर्ता गराउन भनेको नगरपालिकाका एक कर्मचारीको दाबी छ ।
पत्रै काटेर सामग्री फिर्ताका लागि निर्देशन दिने तयारी भए पनि भट्टराईले सामान फिर्ता गर्ने वाचा गरेपछि रोकिएको थियो । उनले टीभी भने आफ्नै भएको दाबी गरेको ती कर्मचारीको भनाइ छ ।
यस विषयमा जिज्ञासा राख्दा नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलगाईं त्यस्तो केही नभएको भन्दै पन्छिन खोजे ।
हिजो सामग्री नभेटिएपछि फिर्ताका लागि निर्देशन दिनुभएको रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘तपाईंहरूलाई कसले यस्तो सूचना पुर्याउँछ ? मैले आफैं क्वार्टर खाली छ कि छैन, के–के सामग्री थिए भनेर बुझेको हुँ,’ उनले भने ।
यता आरोप लागेका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले आफूले कुनै सामग्री नलगेको दाबी गरे । ‘मैले कुनै सामग्री लगेको छैन,’ उनले भने, ‘जिन्सी शाखालाई सोध्नुस् ।’
भट्टराईको केराबारी गाउँपालिकामा सरुवा भएको थियो । केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीलाई २० दिनमै सरुवा गर्न लगाएर भट्टराई त्यहाँ गएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँग पहुँच पुर्याएर भट्टराई कोराबारीमा गएको कर्मचारीहरू बताउँछन् ।
कार्की चैत्र ३ गते केराबारी गएका थिए । तर, कामकाज भने ७ गतेदेखि मात्रै गरेका थिए । कार्कीको २३ गते मुख्यमन्त्री कार्यालयमा सरुवा भएको थियो ।
मोरङका माओवादी नेताहरूले दबाब दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले घरमै बसेर भट्टराई र कार्कीको सरुवाको कागज बनाउन निर्देशन दिएको चर्चा छ ।
कार्की र भट्टराई दुवै एमालेनिकट कर्मचारी संगठनका हुन् । भट्टराईलाई मुख्यमन्त्री कार्यालयमा सरुवा गर्ने योजनामा मन्त्री मोदी थिए ।
मुख्यमन्त्री कार्यालयमा सरुवा हुने थाहा पाएपछि भट्टराई माओवादी नेताहरूको शरणमा पुगेर केराबारी जाने योजना सुनाएका थिए । केराबारीमा खोलाजन्य सामग्री उत्खननलगायत आन्तरिक स्रोत राम्रो भएकाले त्यहाँ जान उनले मरिहत्ते गरेको कर्मचारीहरू बताउँछन् ।
सुन्दरहरैचामा मेयर केदार गुरागाईंसँग सम्बन्ध बिग्रिएपछि विनोद मन्त्रीको सोर्सफोर्स लगाउन माओवादी नेताको शरणमा पुगेका थिए । गुरागाईं पनि एमाले हुन् । मन्त्री मोदी घरमा आएका बेला माओवादी नेतासहित गएर भट्टराईले उनलाई भेटेका थिए । त्यसपछि सरुवा भएको थियो ।
रमाना बुझेपछि पनि नगरपालिकाको कार्यालयमा गएर उनले भुक्तानी तथा नयाँ केही योजनामा तोक लगाउने काम गरेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार उनले पुरानै मितिमा तोक लगाएका हुन् ।