
कांग्रेसमा विद्रोह गरी रास्वपामा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले उपनिर्वाचनमा तनहुँ १ बाट शानदार जीत दर्ता गरेका छन् ।
४ मंसिरमा कांग्रेसका जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछिको उपनिर्वाचनमा वाग्लले शानदार जीत दर्ता गरेका हुन् ।
जितेपछि उनले उच्चतम लोकतान्त्रिक अभ्यास गर्न पाएको भन्दै उनले आफूप्रति देखाएको भरोसलाई डगमगाउन नदिने बताएका छन् ।
‘तनहुँ क्षेत्र नं। १ का सम्पूर्ण न्यायप्रेमी, विकासप्रेमी, विवेकशील मतदाता, आमाबुबा, दाजुभाई, दिदिबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद । सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टी प्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु’ उनले जितेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद । विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद । यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।’
उनले मंगलबार दिनभरको विजययात्राको सूची सामाजिक संजालमा राखेका छन् ।
वाग्लेले कांग्रेसका गोविन्द भट्टराईलाई १४३८८ मतान्तरले पराजित गरेका हुन् ।