२२ असार २०८३, सोमबार

बाढीप्रभावित क्षेत्रमा उपचारका लागि खटिएका डाक्टर पुनले जे देखे

कात्तिक २०, २०७४
बाढीप्रभावित क्षेत्रमा उपचारका लागि खटिएका डाक्टर पुनले जे देखे
केही समय अगाडि बाढी प्रभावित क्षेत्रको स्वास्थस्थिति देख्ने र अनुभब गर्ने मौका पाएको थिए ।

सिन्धुलीगढीको बाटो हुँदै बर्दिबासमा लेप्रोसी अस्पतालमा बास बसियो । मेरो साथमा डा. बिक्रम ज्ञवाली (वरिष्ठ चर्म रोग विशेषज्ञ), स्वास्थकर्मी रविन्द्र अर्याल लगायत अन्य डाक्टरहरु पनि हुनुहुन्थ्यो।

पुगेको भोलिपल्ट डाक्टर सा‘बहरु बिभिन्न बाढी प्रभावित क्षेत्रतिर लागनु भयो ।

बाढी प्रभावित क्षेत्रको अनुगमनको लागि स्वास्थ मन्त्री र स्वास्थ बिभागका उप डाइरेक्टर खटिनु भएको थियो ।
मलाई जलेश्वर अस्पताल र आसपासका ठाउँहरुमा सहयोग गर्न पठाइएको थियो ।

जलेश्वर अस्पताल नजिकै प्रकाउली भन्ने ठाउँमा बाढीपीडितहरुको लागि निःशुल्क स्वास्थ शिबिर राखिएको थियो । त्यहाको इन्चार्ज सँग भेट भयो । उहाले यस क्षेत्रमा त्यस्तो सरुवा रोगको प्रकोप नफैलिएको जानकारी गराउनु भयो र त्यस्तो अवस्था कतै देखिएलाकी भनेर चनाखो रहेको जानकारी दिनुभयो ।

बाढीका कारण सफा पिउने पानी समेत खान नपाएका पीडितहरुमा विभिन्न खालको सरुवा रोगको आशंका जनाइएपनि हामी प्रभावित क्षेत्रमा पुग्दा सम्म त्यस्तो खालको अवस्था देएिन । यस्ता खालका समस्या आउनसक्छ भन्दै सचेतता अपनाइएको थियो ।  त्यहाँ तीन जना चिकित्सकहरु खटिनु भएको थियो ।

म पनि उहाँहरुसँगै उपचारमा खटिए । धेरै जसो श्वासप्रश्वासका बिरामीहरु त्यहाँ जचाउन आएका थिए । त्यसमा पनि बढी मात्रामा बालबालिकाहरु थिए ।

त्यस्तै छालासँग सम्बन्धी रोगहरु पनि लिएर आहेको पाए। धेरै गर्भवती महिलाहरु पनि नियमित जाँच गराउन आएका थिए । केही भने ज्वरोका लक्षण पनि लिएर उपचारको लागि आएका थिए ।

झाडा पखालाका बिरामी भने देखिएन । शायद यसैलाई आधार मानेर होला त्यहाँको इन्चार्जले त्यस्तो प्रकोप छैन भनेको। तर गर्भवती महिलाहरु बढी मात्रामा पोषण पाइन्छ की भनेर आएका थिए ।

यसबाट त्यहाँ पोषणयुक्त खानाको कमी भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अरु डाक्टरसाबहरु गएको क्षेत्रहरुमा पनि पोषणको माग ठूलो रहेको सुनाए । यद्यपी रुघा खोकी, ज्वरो र छाला सम्बन्धी समस्याहरु लिएर आउनेहरुको ठूलो संख्या थिए र तिनीहरुको उपचार पनि गरिएका थिए । तर पनि धेरैको ध्यान भने पोषणमा नै रहेको पाइयो र यसैको लागि हानथाप गरेको समेत देखियो ।

यसबाट बालबालिका र गर्भवती महिलाहरुमा कुपोषण हुने सम्भावना अत्यधिक बढेको देखिन्छ । समयमा नै यसबारे सोच्नु पर्ने देखिन्छ ।

मानिसहरुको पहिलो आवश्यकता भनेको खाना नै हुन्छ भने गर्भवती महिला र बालबालिकालाई भने झन पोषणयुक्त खानाको अति आवश्यक रहन्छ ।

बिभिन्न सरुवारोगहरुबाट बच्न बिभिन्न उपायहरु अपनाउन अनुरोध गरेको देखेपनि त्यो यस्तो संकट वा अवस्थामा त्यति उपयोगी देखिएको थिएन । जस्तै पानी उमालेरा पिउने, क्लोरिन र पियुष जस्ता चीजको प्रयोग गरेर शुद्धिकरण गर्ने, फिल्टर गरेर पिउने आधी जस्ता उपायहरु अपनाउन उनीहरुसंग त्यस्ता स्रोत साधनहरु हुन जरुरी हुन्छन् ।

तर त्यस्तो भौतिक संरचना र समानहरुको अभाब भएको अवस्थामा यी उपायहरु स्वयंम लागु भने गर्न सक्ने अवस्था देखिदैन । यी सबै उपायहरु त सहयोगीकर्ताहरुले नै अबलम्बन गर्नु पर्ने देखिन्छ।

हाल त्यस्तो ठूलो महामारी फैलिएको देखिदैन तर महामारी टरी सकेको पनि छैन । सफा पानी र पोषण युक्त खानेकुराको कमीले गर्दा पानी जन्य रोगहरु जस्तै टाइफाइड, झाडापखाला, जन्डिसको जोखिम अझै देखिन्छ ।

हाल सर्लाहीबाट डेंगुका बिरामीहरु आउन शुरु गरिसकेको अवस्थाले त्यहाँ कीटजन्य रोगहरु फैलन सुरु भएको देखिन्छ । त्यहाँ स्क्र्ब टाइफस, चिकनगुनिया, मलेरिया, जापानिज इनसेफालाईटिस जस्ता रोगको जोखिम बढ्दै गएको छ ।

सरुवा मात्र नभई नसर्ने रोगहरु पनि बढ्न सक्ने देखिन्छ । केही वर्ष अघि श्रीलंकामा सामुन्द्रिक बाढी (सुनामी) आउदा त्यहाँ झाडा पखालाको समस्याको आकलन गरिएको भएपनि त्यसको ठिक विपरीत नसर्ने रोग डिप्रेसन र मधुमेहको (चिनीको) को समस्या देखिएको थियो । तसर्थ यस्ता रोगहरुको पनि जाच गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।

सर्पदंशको समस्या हरेक बर्ष यसै बेला तराई क्षेत्रमा देखिने भएपनि बाढी आहेको बेला अझ जोखिम बढी हुने भएकोले सर्पदंश उपचार केन्द्रहरु ठाउँ ठाउमा राख्न जरुरी हुन्छ। त्यहाँ पाईने सर्पहरु खासगरी करेत, कोब्रा एकदम बिषालु हुने भएकोले उपचार केन्द्रहरु राख्न जरुरी देखिन्छ।

यस्ता स्वास्थ शिबिरहरु एकपटक मात्र राखेर हुँदैन। बाढी पीडितहरु पूर्ववत अवस्थासम्म नफर्केसम्म स्वास्थ्य शिबिरहरु नियमित हुन जरुरी छ ।

हाल सबै भन्दा बढी चिन्तित हुनु पर्ने बिषय भनेको कुनै पनि सरुवारोगले महामारीको रुप लिएमा हो । यदी समयमा रोगको पहिचान गरिएन र अकस्मात फैलिएमा मानिवीय क्षती त हुन्छ नै त्यो सँगै त्यसलाई नियन्त्रण गर्न ठूलो आर्थिक भार बेहोर्नु समेत बेहोर्नु पर्ने अवस्था आउन सक्ने छ । तसर्थ सरकारमा मात्र नभई स्वयं बाढीपीडितहरु पनि चनाखो हुन जरुरी देखिन्छ ।

डा. पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्