
कवि राजु स्याङ्तानको पहिलो कविता संग्रह ‘ओ पेङ्दोर्जे’ शनिबार सार्वजनिक भएको छ ।
आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् ।
पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरुले कुनै समय हतियार बोकेर समाज रुपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे ।
‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ पुस्तकमा अटाएको कविताबारे टिप्पणीगर्दै समीक्षक हरि शर्माले भने, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्वित भएको छ ।’
एकठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रुपमा पाउँदा आश्चर्यसमेत प्रकट गरे ।
यसरी विम्ब र प्रतिविम्ब प्रयोग गर्दै कल्पनाहरुलाई सशक्त ढंगले उभ्याउने राजुलाई आफुले समग्रमा भने यथार्थवादी कविका रुपमा पाएको शर्माले बताए ।
कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गरेका थिए । शनिबारकै समारोहमा भौतिक पुस्तक मात्र नभइ यसका ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो ।