
निरा पाण्डे आचार्य हत्याकाण्डमा नयाँ–नयाँ तथ्यहरू खुल्दै गएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतवार राजधानीमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको छ ।
विनोदलाई शनिवार झापाको बिर्तामोड– १ स्थित इलाम बसपार्कबाट राति १० बजे पक्राउ गरी आइतवार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको चाबहिल सरस्वतीनगरमा ‘निरु किचन’ नामक भाँडा पसल सञ्चालन गर्दै आएकी निरुको हत्या लुटपाटको उद्देश्यले भएको दाबी प्रहरीले गरेको छ ।
हत्याको ५ दिनसम्म राजधानीमै रहेर त्यसपछि झापा पुगेका विनोद भारततर्फ भाग्ने तयारीमा रहेको पाइएको समेत प्रहरीको दाबी छ ।
उनी नेपालबाट काँकडभिट्टा नाका हुँदै भारतको कोलकत्ता जाने तयारीमा रहेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।
‘अभियुक्त भारतको कोलकत्तातर्फ भाग्न लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ एआईजी बज्राचार्यले भनिन्, ‘हिजै भाग्ने तयारी रहेछ ।’
विनोदसँग भारतको रासन कार्ड समेत रहेको र कोलकत्तामा जागिरका लागि त्यहाँ चिनजान भएका व्यक्तिलाई भनिसकेको पाइएको प्रहरीको दाबी छ ।
आर्थिकरूपमा कमजोर रहेका विनोद ऋण तिर्न नसकेपछि घर छाडेर हिँडेको पाइएको प्रहरीले जानकारी दियो । झापास्थित एक क्यासिनोमा बाउन्सरको काम गर्दा जुवाको लतमा ३ लाख रुपैयाँ ऋण लागेको उनले प्रहरीलाई बताएका छन् ।
सिक्री लुट्नकै लागि निराको हत्या गरेको स्वीकारेका विनोदले पछाडिबाट चक्कुले हानेर हातमुख थुनी हत्या गरेको बयान दिएका छन् ।
निराको शरीरमा १५ भन्दा धेरै ठाउँमा चोटपटक देखिएको थियो ।
उनले त्यो सिक्री तारकेश्वर नगरपालिकास्थित एक सुन पसलमा ५५ हजारमा धरौटीमा राखेर पैसा लगेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
त्यो पैसाबाट १० हजारको मोबाइल किनेको, साथीभाइलाई खाना खुवाएको बयान विनोदले दिएको एआईजी बज्राचार्यले बताइन् ।
उनको साथबाट प्रहरीले १३ हजार रुपैयाँ नगद बरामद गरेको थियो ।
आरोपीको बयान– सुन लुट्दा प्रतिकार गरेपछि हत्या गरें
प्रहरीका अनुसार विनोदले सुनको सिक्री लुट्ने क्रममा निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।
‘सुन र पैसा लुट्ने क्रममा प्रतिकार भएपछि हत्या गरेको हुँ भन्ने बयान दिएको छ । हत्या गर्न पसलकै चक्कु प्रयोग गरेको उसले बताएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।
अनुसन्धानका क्रममा प्रहरीले एउटा रेस्टुरेन्टमा रगतले लतपतिएको झोला फेला पारेको थियो ।
वैशाख ७ गते मातातीर्थ औँसीका दिन आफ्नै पसलमा निराको शव भेटिएको थियो । हत्यारा सार्वजनिक गर्न माग गर्दै उनका आफन्तले सरस्वतीनगर क्षेत्रमा दैनिक आन्दोलन गरिरहेका थिए ।
निराका आफन्तको गुनासो– भित्र हत्या भएको भए रगत किन छरिएन ?
निरा पाण्डे आचार्यका आफन्तले निराको हत्या पसलमै भएको भए किन रगत छरिएको थिएन भनेर प्रतिप्रश्न गरेका छन् । त्यहीँ चक्कु प्रहार गरी हत्या गरेको भए घटनास्थलमा छरपस्ट रगत हुनुपर्ने उनीहरूको तर्क छ ।
आइतवार सीआईबीको पत्रकार सम्मेलनमा आएका एक आफन्तले निराको हत्या आकस्मिक नभएर योजनाबद्ध देखिएको भन्दै थप छानबिन हुनुपर्ने बताए ।
‘हामीलाई पहिलेदेखि नै योजना बनाएर हत्या गरेको जस्तो लागेको छ । एक्कासि आएर किन कसैले त्यसरी वीभत्स हत्या गर्छ ?’ ती आफन्तले एआईजी किरण बज्राचार्यलाई प्रश्न गरे ।
बज्राचार्यले विभिन्न प्रमाणका आधारमा विनोदलाई पक्राउ गरेको र बाँकी तथ्य थप अनुसन्धानपछि खुल्ने बताइन् ।
‘अहिले प्रारम्भिक अनुसन्धानमा ऊ नै हत्यारा हो प्रमाणहरू देखिएका छन्, उसले योजना बनाएको थियो या एक्कासि हत्या गर्यो भन्ने अनुसन्धान हुन बाँकी छ,’ एआईजी बज्राचार्यले आफन्तलाई जवाफ दिँदै भनिन्, ‘त्यस विषयमा अनुसन्धान गरेर थप तथ्य सार्वजनिक गर्नेछौं ।’
पढ्नुहोस्, यो पनि :
निरा र पतिको सम्बन्धमा खटपट
हत्या भएकी मृतक निरा पाण्डे आचार्य र उनका पतिबीच केही समयदेखि सम्बन्ध राम्रो नभएको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार ३०० मिटर दूरीमा उनका पतिको भाँडा पसल छ । तर, पनि उनीहरूबीच सम्बन्ध राम्रो थिएन ।
केही समयदेखि बोलचालसमेत बन्द भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यसतर्फ पनि अनुसन्धान शुरू गरेको बताएको छ ।