
युवा पुस्तामा बबल टीको क्रेज दिनानुदिन बढ्दो छ । फेसनको रूपमा चलेको बबल चिया छोटो समयमा लोकप्रिय हुँदै गएको छ ।
बबल टी अन्य चिया जस्तो तातो हुँदैन, यो चिल पिउने हो । यो चिया आइस टी जस्तै हो ।
बबल टीलाइ पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टी धेरै नामले चिनिन्छ । यो पेय पदार्थ गर्मी मौसमका लागि निकै शितलता प्रदान गर्ने ड्रिंक मानिन्छ ।
बबल टी ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा शुरू गरिएको थियो ।
सन् १९९० को दशकमा गएर यो संयुक्त राज्य अमेरिका हुँदै विश्वभर छाउन थाल्यो । केही वर्ष पहिले नेपालमा पनि भित्रियो । छोटो समयमा लोकप्रियता पनि बढ्दै गयो ।
कति देशहरूमा बबल टी चिसो र तातो दुवै भर्सनमा तयार गरिन्छ । बबल टी मुख्यतया २ किसिमले तयार गरिने भए तापनि पछिल्लो समयमा आएर यसको भेराइटी स्वादअनुसार दर्जनौं सर्भ गर्न थालिएको छ ।
बबल टी स्टेसन चलाएर शहर बजारमा व्यवसाय गर्नेहरू व्यापक छन् । रेस्टुरेन्टको पेय पदार्थको मेनुमा पनि बबल टीका भेराइटीहरू पाउन सकिन्छ ।

बबल टीको मुख्य सामग्री ट्यपियोका पर्ल हो, जुन पिडालुको पिठो (स्टार्च) बाट बनेको हुन्छ, जुन निकै कोमल र चिवी (चुइगम जस्तो) हुन्छ । कफी या टी फ्लेबर पाउडर, क्रिम फ्लेबर पाउडर, जुस फ्लेबर पाउडर प्रमुख हुन्छन् । टी हाउस या सुपर मार्केटमा बबल टीका लागि चाहिने अधिकांश सामग्री उपलब्ध रहने हुँदा स्वास्थ्यका हिसाबले पनि आफैंले घरमा बनाएर पिउँदा उत्तम हुन्छ ।
बजारमा पाइने बबल टीमा कतिपय खतरनाक केमिकल्सहरू पनि प्रयोग हुने हुँदा बालबच्चाका लागि पनि घरकै बबल टी उत्तम मानिन्छ । आकर्षक देखाउन र प्रतिस्पर्धाका कारण बबल टीमा प्राकृतिक सामग्रीहरू कम प्रयोग हुन थालेको छ ।

कसरी बन्छ बबल टी ?
बबल टीका लागि सर्वप्रथम कसबा पर्ललाई उम्लेको पानीमा पकाउने । मज्जाले पाकेर सफ्टनेस हुनासाथ चिसो पानीले पखालेर चिस्याउने र एक साइडमा राख्ने । ब्राउन सुगर (खैरो चिनी)को सिरप तयार गरेर बोइल गरेको कसाबा (टोपिका) पर्ललाई भिजाएर राख्ने । अर्को प्यानमा आफूले इच्छाएको फ्लेबरमा ब्ल्याक टी बनाएर राख्ने ।

कन्डेन्स मिल्कको डब्बा खोलेर तयारी अवस्थामा घोलेर राख्ने । आफूले इच्छाएको ग्लास या जारमा बोइल गरेर राखेको टोपिका पर्ल हाल्ने र माथिबाट आइस क्युबस हाल्दिने । माथिबाट तयारी अवस्थामा राखेको ब्लेक टी खन्याइदिने र अन्त्यमा कन्डेन्स मिल्क हालेर हल्का चलाउने ।
अब तयार भएको बबल टीमा स्ट्र राखेर सर्भ गर्न सकिन्छ । इच्छा लाग्नेले विभिन्न फ्रुट फ्लेबर र स्टनर थपेर पिउन सकिन्छ ।
के हो टोपिका पर्ल ? कसरी बन्छ ?
टोपिका पर्ल हामीले खिर बनाएर खाने साबुदाना जस्तै हो । यो पिडालुको पिठोलाई ब्राउन सुगरको सिरपमा मुछेर डल्लो बनाई सानो–सानो बल आकार दिएर सुकाइ तयार गरिएको हुन्छ । जुन हामीले पिडालुको जराको पिठो (स्ट्राच) बाट सहज रूपमा घरमै बनाउन सकिन्छ तर पनि यो बजारमा या टी हाउसमा सहज रूपमा प्याकेटमा पाइन्छ ।
जुन शुद्ध पिडालुको जरालाई सुकाएर पिठो तयार गरी पानी या सिरमा मुछेर तयार गरिएको हुन्छ । तयारी टोपिका पर्ल किनेर ल्याएको हो भने प्याकेट खोलेर कति चाहिने हो प्रयोग गरेपछि राम्ररी सिल गरेर रुम टेम्प्रेचरमा राख्न सकिन्छ । धेरै तातो या धेरै चिसो ठाउँमा राख्नुहुन्न ।
बजारमा किनेको बबल टीको बल टोपिका पर्लको म्याद कति समयसम्म छ हेरेर मात्र किन्नुपर्छ । सामान्यतया यसको म्याद प्याक गरेको मितिले ६ महिना हुन्छ ।