
जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ ।
कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिड विरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ ६ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।
२ नगरपालिका र ८ गाउँपालिकाका गरी २५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार ३४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।
यसअघि बुस्टर डोज लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने छ ।
गत वर्ष चैत २४ गतेदेखि वैशाख १९ गतेसम्म जिल्लाका ६ हजार जनालाई बुस्टर डोज दिइएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको खोटाङमा १ लाख ७ हजार ४२ जनाले यसअघि नै कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको सिग्देलले बताए । कोरोना भाइरसको संक्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो । १० स्थानीय तह रहेको जिल्लामा १ थान भेन्टिलेटर, ७ एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको सिग्देलले जानकारी दिए ।