
अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) नेपालको अध्यक्षमा रमेशप्रसाद दवाडी निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
संग्रहालय क्षेत्रमा काम गर्ने व्यक्तिहरूको संगठनको रुपमा रहेको संस्थाले आगामी तीन वर्षका लागि १२ जना प्रतिस्पर्धीबाट ९ जनालाई निर्वाचित गरेको हो ।
निर्वाचित नयाँ नेतृत्वमा अध्यक्ष रमेशप्रसाद दवाडी, सचिव सन्तमान महर्जन र कोषाध्यक्ष ओमप्रकाश घिमिरे रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजन जोशी, विजयकुमार शाही, विरेन्द्र महतो, सन्तमान महर्जन, मीना लामा र पवित्रा थपलिया रहेका छन् । ११ सदस्यीय कार्य समितिमा युनेस्को नेपालका प्रतिनिधि र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको नवर्विाचित अध्यक्ष दवाडीले जानकारी दिए ।
संग्रहालयको क्षेत्रमा काम गर्दै आएको आइकम नेपाल पछिल्लो समयमा सक्रिय बन्दै गइरहेको छ ।
नेपालमा संग्रहालयको संख्या र अवलोकनकर्ताको चासो बढ्दै गएको तर त्यसको अनुपातमा संग्रहालयको व्यावसायिकता बढ्न नसकेकाले यसका लागि पहल गर्ने अध्यक्ष दवाडीले बताए ।
विश्व संग्रहालय परिषद्को मान्यता प्राप्त आइकम नेपाल विगत लामो समयदेखि नै नेपालमा कार्यरत रहेता पनि यसले संस्थागत रुप लिएको २०७३ साल भदौमा हो ।
उक्त मितिमा आइकम नेपाललाई विधिगत रुपमा दर्ता गरी संस्थागत रुप दिइएको थियो । त्यसयता संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संग्रहालयको सचेतना, छलफल, पैरवी तथा अध्ययनलगायतका विभिन्न कामहरू गर्दै आएको छ ।