२२ असार २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणले मोबाइल नै परिवर्तन गरेको खुलासा

जेठ ८, २०८०
नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणले मोबाइल नै परिवर्तन गरेको खुलासा

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले यसबीचमा मोबाइल नै परिवर्तन गरेको खुलासा भएको छ ।

खाँणको साथमा भेटिएको मोबाइल पहिले प्रयोग गर्ने गरेको भन्दा फरक रहेको पाइएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यसबीचमा प्रहरीले खाँणको मोबाइल डाटा रिकभरका लागि पठाएको थियो । तर, त्यसमा केही भेटिएन ।

'उहाँले पहिले प्रयोग गर्ने गरेको मोबाइल अर्कै रहेको पुष्टि भएको छ,' प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।

खाँणको मोबाइलमा केही नभेटिए पनि अन्य आरोपीकोमा भेटिएको डाटा, पैसा लेनदेनको प्रमाण आदिलाई प्रतिवेदनमा समेटिएको प्रहरी स्रोतले जनाएको छ ।

यस प्रकरणमा अनुसन्धान सकेर प्रहरीले सोमवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

३२ जनालाई प्रतिवादी बनाउँदै २७ करोडभन्दा बढी बिगो कायम गरी मुद्दा दायर हुनुपर्ने प्रहरीको राय छ ।

यही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा तयार गर्नेछ ।

समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण ८ जनाको टीमले चौबीसै घण्टा काम गर्ने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने बताउँछन् ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा दुई पूर्वमन्त्रीसहित १६ जना पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

फरार रहेका थप १६ जनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।


 

salt training

कमेन्ट गर्नुहोस्