
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
हिमालयसोरस नामक उक्त विशालकाय जीव समुद्रको गहिरो पानीमा बस्थ्यो । यसको लामो थुतुनो, तीखो दाँत र १० मिटरभन्दा लामो शरीर थियो । यो तीव्र गतिमा पौडी खेल्थ्यो अनि माछा खाएर बाँच्थ्यो ।
यसको अवशेष चाहिँ समुद्र सतहभन्दा लगभग चार हजार मिटरको उचाइमा भेटिएको छ ।
हुन पनि करोडौं वर्षअघि दुईवटा टेक्टोनिक प्लेटको टकरावका कारण गहिरो समुद्रबाट माथि उचालिएर हिमालय क्षेत्रको उत्पत्ति भएको थियो । समुद्रतलका प्राणीको अवशेष अहिले फेला पर्न थालेका छन् । तिब्बतमा पहिलोपटक हिमालयसोरसको अवशेष सन् १९६० मा पत्ता लागेको थियो ।
मेसोजोइक युगका प्राणीहरूका विषयमा विस्तृत अध्ययन गर्न यस अवशेषले मद्दत गर्ने चिनियाँ वैज्ञानिकहरूको कथन छ ।