०३ साउन २०८३, आइतबार

‘हल्का रमाईलो’मा पुगे ‘वेलकम टु हेम्जाकोट’का कलाकार

‘हल्का रमाईलो’मा पुगे ‘वेलकम टु हेम्जाकोट’का कलाकार

यही जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’का केही कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’मा पुगेका छन् । विगत लामो समयदेखि प्रसारण हुँदै आएको उक्त टेलिसिरियल दर्शकमाझ लोकप्रिय छ । 

यसपटक ‘हल्का रमाईलो’का दर्शकले हेम्जाकोट फिल्मका कलाकारको विशेष प्रस्तुति हेर्न सक्नेछन् । 

राजु पौडेल र मरिचमान श्रेष्ठको लेखन तथा निर्देशन रहँदै आएको यो टेलिसिरियलमा अघिल्लो श्रृंखलाभन्दा अलिकति फरक बनाउन निर्देशकद्वय पौडेल, श्रेष्ठले नियमित कलाकार शारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सबिना आचार्य, सविना गिरी लगायतसँग हेम्जाकोटका अभिनेता विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कंडेल, विशाल पहारी, रवि गिरीलाई पनि एकसाथ छायांकन गराएका छन् । 

टेलिसिरियलका निर्देशक श्रेष्ठले अतिथि कलाकारहरूसँगको यसपटकको स्क्रिप्ट अलिकति फरक हुने बताए । उनले भने, –‘यो टेलिसिरियलका हाम्रा नियमित दर्शकका लागि अतिथि कलाकारहरूको नयाँ प्रस्तुति देखाउन खोजेका छौँ । आशा छ दर्शकले थप रमाइलो मान्नुहुनेछ ।’ 

अभिनेता विनोद न्यौपानेले नियमित फिल्ममा काम गरिरहेको सन्दर्भमा टेलिसिरियलमा काम गर्दा भिन्न अनुभूति भएको प्रतिक्रिया दिए । उनले टेलिसिरियलका दर्शकका लागि यसपटकको प्रस्तुति केही भिन्न हुने बताए । त्यस्तै, अग्रज कलाकार विशाल पहारीले फिल्मको प्रमोसनका लागि एकले अर्काको सम्मानार्थ अतिथि कलाकार बनाउने संस्कारको विकास भएकोमा खुसी व्यक्त गरे । त्यस्तै, उनले सिरियलको रमाइलो कन्टेन्टमा आबद्ध हुँदा छुट्टै किसिमको रमाइलो अनुभव लिएको बताए । 

अभिनेता प्रेविल कंडेलले टेलिसिरियलको काम गर्ने शैली देखेर अचम्मित भएको बताए । उनले भने, – ‘टेलिसिरियलका दर्शक छोटो–मिठो कमेडी शैलीमा कन्टेन्ट हेर्न खोज्नुहुन्छ । हामी फिल्ममा धेरै महिना काम गरेर निर्माण गर्छौ । तर, टेलिसिरियलमा एकदमै छिटो कसरी राम्रो कन्टेन्ट बनाउने भन्ने रणनीतिमा काम हुँदोरहेछ । यो मेरो लागि भिन्न अनुभव हो ।’ 

यस्तै, अभिनेता दिनेश खड्काले एउटा कलाकार व्यावसायिक बन्नका लागि सानातिना काम भन्न नहुने बताए । उनले भने, – मैले यसअघि धेरै प्रोजेक्टमा काम गरेँ । सुरुमा नाटक पनि गरेँ । फिल्म पनि गरेँ । अहिले फेरी सिरियल खेल्न यहाँ आएको छु । मलाई त कुनै किसिमको घमन्ड छैन ।’ 

सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’का निर्माता तेज प्रसाद दाहाल र सहायक निर्माता बाबुराम कार्की हुन् । पोखरा क्षेत्रमा खिचिएको यो फिल्म सामाजिक-कमेडी जनरामा निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्