२८ असार २०८३, आइतबार

यस्ता छन् राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा नयाँ व्यवस्था

जेठ २१, २०८०
काठमाडौं
यस्ता छन् राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा नयाँ व्यवस्था

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने, स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्था छ । 

गैरआवासीय नेपालीलाई पनि निश्चित सीमासहित नागरिकता प्रदान गर्ने अर्को प्रावधान छ । जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई नागरिकता दिने दुवै प्रावधानमा विवाद छैन । 

विवाद भने वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानमा छ, जुन विषयमा विधेयक मौन छ ।
राजधानी दैनिक लेख्छ-अहिले नागरिकतासम्बन्धी हकलाई नियमन गर्ने कानुन २०६३ सालको ‘नेपाल नागरिकता ऐन’ हो । सो ऐनले ‘नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने’ व्यवस्था गरेको छ । २०६३ सालको कानुनको यस्तो प्रावधानमा अहिले कुनै संशोधनको प्रस्ताव गरिएको छैन । त्यसैले यो विधेयक पारित भए वा नभएमा पुरानै व्यवस्थाले निरन्तरता पाउँनेछ । अर्थात् नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले विदेशको नागरिकता त्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेमा उनी नेपालको नागरिकता प्राप्त गर्न योग्य हुनेछिन् । २०६३ सालमा मात्र होइन, नागरिकता संशोधन ऐन, २०४९ मा पनि यही प्रावधान थियो ।

यो विधेयक प्रमाणीकरणसँगै जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन् । अब ३ असोज २०७२ को संविधान जारी हुनुअगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउनेछन् । सीमा नराखिएका कारण २०६३ सालको ऐनअनुसार नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो नागरिकता त्याग गर्ने कारबाही चलाएको निस्सा पेस गरेमा नागरिकता पाउँछिन् । अन्तरिम संविधानमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरिएको थियो । यो व्यवस्थाका कारण धेरै गैरनेपालीले नागरिकता लिन सफल भएका थिए ।

३ असोज २०७२ भन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । स्वघोषणापछि आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था पनि यस विधेयकमा छ । अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीँ बसोबास गरेका तर बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउँनेछन् ।

त्यस्तो नागरिकता लिन चाहने व्यक्तिले बुबा पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्नेछ । यद्यपि, आमाको पनि मृत्यु भइसकेको वा होश ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउँनेछन् । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ । तर, स्वघोषणा गर्दा झुटो ठहरिए सजायको व्यवस्था गरिएको छ ।

विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खोलेको छ । उनीहरूले अब राजनीतिक र प्रशासनिकबाहेकका अधिकार प्रयोग गर्न पाउनेगरी नागरिकता पाउँनेछन् । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्काल पाउने व्यवस्था पनि यस विधेयकमा छ ।

प्रमाणीकरण भएको विधेयकले अंगीकृत नागरिकता लिन समयको सर्त राखेको छैन । अर्थात्, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाह दर्तापछि अंगीकृत नागरिकता पाउने बाटो खुलेको छ । वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यैले नेपालको नागरिकता लिएपछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्थाबमोजिम नागरिकता पाउँनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्