
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिलिज गरिएको हो ।
फिल्मको हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन् । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका हुन् । फिल्मका दुई मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्टलाई भिडियोमा फिचर्ड गरिएको छ । नेपाली र हिन्दीमा रिलिज हुने भनिएको फिल्मको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मको छायाँकन निरज कँडेलले गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको फिल्ममा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के. खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् ।
फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।