२१ असार २०८३, आइतबार

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

जेठ ३१, २०८०
काठमाडौं
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरे । 

समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी थिए। झण्डै १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गरिएको हो । 

समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारे । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गरे । मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएको बताए । 

समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा डा यादव प्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले आयुर्वेद स्नातक तह कक्षा बिएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको उल्लेख गर्दै उपकुलपति लामिछानेले एकीकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडीबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका सभासद लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय र प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

दीक्षान्त समारोहमा २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एकवर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बिएएमएस), आचार्य र विद्यावारिधि उतीर्ण गरेका चार हजार सात सय ७३ मध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ विद्यार्थी दीक्षित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्